बाजुरामा बद्री पाण्डे कि कर्ण थापा ?

काठमाडौँ । बाजुरामा प्रतिनिधि सभातर्फ रोचक भिडन्त हुने देखिएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सह-महामन्त्री बद्रीप्रसाद पाण्डे र एमाले सुदूरपश्चिमका सह-इन्चार्ज कर्णबहादुर थापा पहिलोपटक आमनेसामने भएका छन् ।

पाण्डे प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवापछि सुदूरपश्चिमबाट काँग्रेस पदाधिकारीमा अटाएका नेता हुन् भने थापा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट पछिका सुदूरपश्चिमका ठूला एमाले नेता हुन् ।

नेकपा एमालेलाई ०७४ सालको विरासत जोगाउनुपर्ने चुनौती छ । यद्यपि गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामले एमाले उत्साहित छ । काँग्रेस सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथले ०७४ को नतिजा उलटफेर गर्ने रणनीतिका साथ मैदान उत्रिएको छ ।

थापा यो सहित तेस्रो चौथो पटक चुनाव लड्दैछन् । पाण्डेको अरू दलसँगको पहिलो प्रतिस्पर्धा हो । संविधान सभा सदस्य र राष्ट्रिय सभा सदस्य बनेको अनुभव भएपनि पाण्डेसँग प्रत्यक्ष चुनाव लडेको यो नै पहिलो अनुभव हो ।

थापाले भने २०५६, २०६४ र २०७० मा चुनाव लडेको अनुभव छ । ती मध्ये २०७० को संविधान सभाको चुनाव मात्रै जितेका थिए । त्यो बेला थापाले नेपाली काँग्रेसका सभापति मनबहादुर रावतलाई पराजित गरेका हुन् । २०५६ र २०६४ मा थापाले हारे । प्रजातन्त्रको पुर्नरबहाली पछि भएका चुनावमा काँग्रेस–एमालेले नै बाजुरामा जितेको इतिहास छ । २०४८, २०५६, २०७४ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । भने २०५१, २०७० र २०७४ मा एमालेका उम्मेदवार विजयी भएका थिए । एक पटक जितेर संसद् बनेका थापा मन्त्री बनेका थिए । भने पाण्डे दुई पटक सांसद बनेर त्यो अवसर पाएका छैनन् ।

तत्कालीन स्थानीय निकाय निर्वाचन २०४८ मा काँग्रेसले बहुमत गाविस जितेपनि २०५४ मा एमालेले जितेको थियो । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नौ मध्ये छ मा काँग्रेस र तीनमा एमालेले जितेको थियो । २०७९ मा आइपुग्दा भने ठिक उल्टो भएको छ । बाजुराका नौ स्थानीय तह मध्ये ६ पालिका एमालेले जितेको छ । भने काँग्रेस तीनमा खुम्चिएको अवस्था छ ।

यी दृश्यले पनि बाजुरामा चुनाव रोचक हुने प्रष्ट देखिन्छ । दुवै जना राजनीति विरासत र केन्द्रीय राजनीतिमा राम्रो प्रभाव राख्ने नेता हुन् । स्थानीय तहको मत सङ्ख्या हेर्दा एमालेलाई जित्न सहज भएपनि गठबन्धनको इमानदार मत पाण्डेलाई गए त्यो थापालाई पनि सहज हुने अवस्था देखिँदैन ।

एमाले अनुकूल परिणाम
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणामका आधारमा बाजुरामा गठबन्धनविरुद्ध नेकपा एमाले बलियो देखिन्छ । बाजुराका ९ पालिकामध्ये नेकपा एमालेले ६ पालिका प्रमुख र काँग्रेसले ३ पालिका प्रमुख पद जितेका छन् । नेकपा एमालेका पालिका प्रमुखका उम्मेदवारले ३१ हजार २२ मत बटुलेका छन् ।

नेपाली काँग्रेसले २६ हजार ६५१ मत बटुल्दा नेकपा एकीकृत समाजवादीले १ हजार ३४३ र माओवादी केन्द्रले २३१ मत बटुलेको छ । यसरी पालिका प्रमुखका उम्मेदवारले पाएको मतका आधारमा सत्तारुढ गठबन्धनका पक्षमा कूल २८ हजार २५५ मत छ । तर केही स्थानीय तहमा नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

कूल ६९ वडामध्ये नेकपा एमालेले ३८, काँग्रेसले २७ र माओवादी केन्द्रले ४ वटामा जित हासिल गरेका छन् । सङ्ख्यामा वडा बढी जिते पनि एमाले वडाध्यक्षले पाएको मतका आधारमा गठबन्धनभन्दा पछाडि देखिन्छ । निर्वाचन आयोगको तथ्यांकअनुसार वडाध्यक्षहरूको मत केलाउँदा एमालेले २७ हजार ६५५ मत ल्याएको छ । प्रतिस्पर्धी काँग्रेसको २४ हजार ४ सय ५७ मत छ ।

माओवादी केन्द्रले भने ३ हजार ९ सय ९२ मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ३ सय ६४ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ सय ७२ मत र स्वतन्त्रतर्फका उम्मेदवारहरूले ५ सय ८४ मत प्राप्त गरेका छन् ।

०७४ को हिसाब
०७४ सालको चुनावमा प्रतिनिधि र प्रदेश सभातर्फ बाजुरामा नेकपा एमालेले बाजी मारेको थियो । वाम गठबन्धनका साझा उम्मेदवार एमालेका लालबहादुर थापाले प्रतिनिधि सभा सदस्यमा जितेका थिए । उनले २८ हजार ६५ मत ल्याउँदा कांग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याएका थिए ।

प्रदेश सभा १ (१)मा नेकपा एमालेका बलदेव रेग्मी ९ हजार ८४० मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज गिरीले ८ हजार ३०१ मत ल्याएका थिए । यस्तै, प्रदेश सभा (२)मा एमालेका प्रकाशबहादुर शाह १८ हजार १८६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका प्रकाशबहादुर शाहीले १४ हजार ९७७ मत ल्याएका थिए ।

पाण्डे र थापाबाहेक बाजुरामा प्रतिनिधि सभातर्फ राप्रपाका जंगबहादुर गिरी, जनसमाजवादी पार्टीका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि चुनावी दौडमा छन् । एमालेले प्रदेश सभा (१) मा बलदेव रेग्मी र प्रदेश सभा (२)मा लालबहादुर थापालाई उम्मेदवार बनाएको छ ।

सत्तारुढ गठबन्धनबाट प्रदेश सभा (१)मा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुवैको उम्मेदवारी छ । माओवादी केन्द्रबाट कर्णबहादुर विश्वकर्मा र नेकपा एकीकृत समाजवादीबाट नरेशकुमार शाही मैदानमा छन् । प्रदेश सभा (२)मा नेपाली कांग्रेसका पदमबहादुर शाही उम्मेदवार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *