समृद्धिका लागि वाम–लोकतान्त्रिक गठबन्धनलाई जिताउनु पर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडाैँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धिलाई संस्थागत गरेको संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् ।
राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
आर्थिक समृद्धिको फड्को मार्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने कार्यभार पूरा गर्न वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य कमला पन्तले गोरखाली जनताको विकासको आकाङ्क्षा सम्बोधन गर्नेखालका योजना ल्याउन गठबन्धनका उम्मेदवारलाई आग्रह गरिन् ।
‘लार्के–बेनिघाट र दूधपोखरी–देउराली सडक, राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना, गोरखकाली रबर उद्योग सञ्चालनसँगै जिल्लाका पर्यटकीय क्षेत्रको विकासमा ध्यान दिनुपर्छ’, उनले भने ।
कार्यक्रममा गोरखा क्षेत्र नं २ (२)का उम्मेदवार सुरेन्द्र पाण्डेले संविधान, गणतन्त्र, सङ्घीयतामाथिको खतरा कायमै रहेकाले वाम–लोकतान्त्रिक गठबन्धन गरेर प्रतिगमनकारी शक्ति विरुद्ध निर्वाचनमा होमिनुपरेको बताए ।
‘मुलुकलाई पछाडि फर्काउने प्रवृत्तिले अझै पनि टाउको उठाइरहेको छ’, उनले भने, ‘त्यसका लागि गठबन्धनका उम्मेदवारको विजय आवश्यक छ ।’ सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरीलाई बिर्सेर आसन्न निर्वाचनमा एक भएर लाग्न नेता कार्यकर्तालाई आग्रह गरे ।
गोरखा क्षेत्र नं १ (१) का उम्मेदवार कृष्ण धितालले जिल्लामा प्रतिस्पर्धी रहेका दलहरु एक भएर निर्वाचनमा होमिँदा जनतामा उत्साह पैदा भएको जनाउँदै आगामी दिनमा पनि जनअपेक्षा पूरा हुने गरी काम गर्नुपर्ने बताए ।
‘उत्पादन वृद्धि, रोजगारी सिर्जना, सडकको स्तरोन्नति, ठूला परियोजना निर्माणमा सबै दल एक भएर लाग्नुपर्छ’, उनले भने ।









