मंसिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ : बाबुराम भट्टराई

काठमाडाैँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनुपर्ने बताएका छन् । राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

‘संविधानसभाबाट जारी संविधान, गणतन्त्र र सङ्घीयताको रक्षार्थ हामी एक ठाउँमा आएको छौँ’, उनले भने, ‘आगामी मङ्सिर ४ गते प्रतिगामी प्रवृत्ति पराजित हुन्छ, अग्रगामी शक्ति अगाडि आउँछ ।’

गणतन्त्रको जग दह्रो भएर समृद्धिको ढोका नखोलेसम्म अग्रगामी शक्तिबीचको एकता र सहकार्य आवश्यक रहेको जनाउँदै अध्यक्ष भटृराईले आसन्न निर्वाचन परिवर्तनका पक्षमा रहेका शक्तिबीच सहकार्यको नमूना हुने बताए ।  कृषिप्रधान अर्थतन्त्रको विकास गर्दै पूर्वाधार निर्माणमा दलको ध्यान जानुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माणसँगै रोजगारी अभिवृद्धिका योजनालाई कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

चुनौतीपूर्ण भौगोलिक वनावट भए पनि गोरखा जिल्लामा विकासको प्रचूर सम्भावना रहेको उनको भनाइ थियो । ‘बेनिघाट–आरुघाट–लार्के सडकको निर्माण सुरु भएको छ, यसलाई जतिसक्दो छिटो सम्पन्न गरिनुपर्छ, बूढीगण्डकी, दरौँदी, चेपे र मर्स्याङ्दी नदीको उत्तर–दक्षिण नदी करिडोर तथा त्रिशूली नदी करिडोर निर्माण गरे मात्रै पनि गोरखामा आधारभूत पूर्वाधार तयार हुन्छ’, पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘पूर्वाधारसँगै रोजगारी सिर्जना र कृषि उत्पादन वृद्धिका साथै हिमाली क्षेत्रमा जडीबुटी सङ्कलन गरेर प्रशोधन केन्द्र बनाउन पनि सकिन्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =