स्कुल बसबाट ‘बाईबाई’ गरिरहेका आयुष्मान रुखमा ठोक्किए, उपचारको क्रममा मृत्यु

काठमाडौँ । स्कुल बसबाट घर फर्किने क्रममा एक बालककाे रुखमा ठोक्किएर मृत्यु भएको छ । काठमाडौँको लाजिम्पाटस्थित बेष्टस् मन्टेश्वरी इलिमेन्टरी स्कुलमा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको मृत्यु भएको हो ।
बुधबार साढे ३ बजे स्कुल बिदापछि बा १ क ४६४२ नम्बरको स्कुल बसमा चढेका उनी झ्यालबाट टाउको बाहिर निकालेर आफ्नो साथीलाई ‘बाईबाई’ भन्दै थिए । लगत्तै चालकले बस अघि बढाएपछि आयुष्मानको टाउको सडक किनारमा रहेको रुखमा ठोक्किएको थियो । घटनापछि उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको थियो ।
उपचारकै क्रममा उनको गएराती करिब २ बजे उनको उपचारको क्रममा मृत्यु भएको हो । उनी ५ कक्षामा अध्ययरत थिए । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत दरबारमार्गका प्रमुख प्रनाउ कोपिला चुडालकाअनुसार घटनाको थप अनुसन्धान भइरहेको छ । दोषिलाई कानुन अनुसार कारकाही गरिने उनले बताइन् । बालकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
अहिले प्रहरीको रोहबरमा स्कुल प्रशासन र मृतकका आफन्तबीच छलफल भइरहेको छ ।








