विराटनगरमा नमुना मतदान : १० प्रतिशत मत बदर

विराटनगर । विराटनगर महानगरपालिका १२ की बन्दना खड्का बुधबार दिउँसो विराटनगरको हनुमान मन्दिर बुधहाटमा आयोजना भएको नमुना मतदानमा सहभागी थिईन् । उनलाई मतदान गर्न केही अलमल जस्तो देखिन्थ्यो । कहाँबाट कहाँ जाने र पहिला कसलाई मत दिने भन्नेमा अन्यौलता थियो । त्यस्तै विराटनगर ९ का अनबर हुसेन पनि त्यही लाईनमा थिए ।
उनी निक्कै बेरपछि भोट हाल्ने ठाउँमा पुगे । ४ वटा बाकस राखेको कारण उनी पनि अलमलमा परेको बताउँदै थिए । आफु जाने बित्तिकै झुक्किएपनि पछि थाहा पाएका अनवरले यस्तो अबस्थामा बुढाबुढीलाई निक्कै समस्या हुने बताए । ‘धेरैतिर घुम्नु पर्दा अललमल जस्तो देखिएको छ, उनले भने, युवाहरुकोलागि सहज जस्तो देखिएको भएपनि बुढाबुढीलाई समस्या हुने देखियो ।’ उनले चार ठाउँमा छाप लगाउन समस्या हुने बताएका छन् ।

विराटनगरका मोहम्मद सैफअली खान ५ बर्ष पछि आउने यो उत्सवलाई सही रुपमा सदुपयोग गर्नु पर्ने बताउँछन् । अरु चाड पर्ब भन्दा यो निक्कै महत्वपुर्ण रहेको कारण यो निर्वाचनमा सबै साबधानी भएर भोट हाल्नु पर्ने अबस्था रहेको उनले अनुभव सुनाए । चार ठाउँमा भोट हाल्नु पर्दा निक्कैै अलमल जस्तो भएपनि सानो मत पत्र भएको कारण धेरै बेर नलागेको उनले बताए । ‘भोट हालेर पनि भोली मत बदर भयो भने निक्कै समस्या हुन्छ, उनले भने, सबै दलहरुले मतदातालाई बुझाउनु पर्ने अबस्था आएको छ।’ चुनावमा १–२ मतले पनि हारजित हुने भएकोले बदर मतलाई कम गर्न तर्फ नेताहरु लाग्नु पर्ने उनले बताए ।

मोरङमा जिल्ला निर्वाचन कार्यालयले बुधबारदेखि नमुना मतदान शुरु गरेको छ। मोरङ जिल्लाका १७ वटै पालिकामा नमुना मतदान गर्ने आयोगको तयारी छ। प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बुधबार विराटनगर महानगरपालिकामा नमुना मतदान गरिएकोमा विहिबारदेखि २ वटा समुह बनाएर टोली परिचालित हुने जानकारी दिए । निर्वाचन कार्यालयले मोरङ जिल्लाका १७ वटा पालिकामा नै नमुना मतदान गर्ने जनाएको छ। त्यस्तै निर्वाचन आयोगले १७ गतेदेखि नै मतदाता शिक्षा संचालन गर्ने पनि जनाएको छ। हरेक स्थानीय तहका महिला स्वास्थ्य स्वयम्सेविका मार्फत मतदाता शिक्षा संचालन गरिने र यो क्रम मंसिर १ गतेसम्म चल्ने अधिकारीले बताए ।
निर्वाचन कार्यालयका प्रमुख अधिकारीका अनुसार नमुना मतदानबाट धेरै समस्या नदेखिएपनि मतदान स्थलको ब्यवस्थापनमा ध्यान दिनु पर्ने अबस्था देखिएको छ । उनका अनुसार मतदानको दिन पहिलोमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारलाई भोट हालेपछि प्रतिनिधि सभाको समानुपातिकको लागि दललाई मतदान गर्नु पर्ने छ । त्यसपछि प्रदेशको प्रत्यक्ष तर्फको उम्मेदवारलाई भोट हालेपछि मात्र प्रदेशको समानुपातिक तर्फ मतदान गर्न पाईने गरि तयारी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

नमुना मतदानमा सहभागी भएका मोरङका प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालले मतदान केन्द्रहरुले स्थान अनुसार बाकसको लेआउट मिलाउनु पर्ने अबस्था देखिएको बताए । चारवटा मत पेटिका हुने र चारवटै ठाउँमा मतदान गर्नु पर्ने भएकोले धेरै ठाउँ ओगट्न सक्ने अबस्थालाई मतदान केन्द्रमा खटिएका कर्मचारीले त्यहाँको अबस्थालाई ध्यानमा राखेर लेआउट बनाउनु पर्ने देखिएको बताए ।
प्रजिअ दाहालले शान्ति सुरक्षाको बिषयमा कुनैपनि राजनीतिक दलहरुलाई अनुमिित लिएर मात्र कार्यक्रम गर्न भनिएको बताए । ‘एकै ठाउमा कार्यक्रम नगर्ने भनिएको छ, उनले भने, अग्रीम कार्यक्रमको जानकारी गराउन सबै दललाई आग्रह गरिएको छ।’ विराटनगरमा भएको नमुना मतदानमा ५५ जना सहभागी भएका छन् । सहभागी मध्ये ५ वटा मत बदर भएको छ । ५० मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ। यस दरलाई हेर्दा करिब १० प्रतिशत मत बदर देखिएको छ ।









