संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार-प्रसारमा जाँदा आयोगकाे अनुमति लिनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले सरकारका मन्त्रीले चुनाव प्रचार प्रसारमा जाँदा अनुमति लिन निर्देशन दिएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचार प्रसारमा जाँदा आयोगकाे अनुमति लिनुपर्ने बताए ।
बुधबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कात्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचारप्रसार गर्न पाइने भन्दै सार्वजनिक पदमा आसीन व्यक्तिले पनि निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने बताएका हुन् ।
अनुमति लिएर चुनाव प्रचारमा गएकाहरुले सरकारी स्रोत साधन प्रयोग गरेको वा नगरेको निगरानी गर्ने पनि प्रमुख आयुक्त थपलियाले बताए । आयोगले आफ्नो चुनाव क्षेत्रमा सभा आयोजना गर्दा मञ्च बनाउँदा लागेको खर्च विवरण पेश गर्न उम्मेदवारलाई निर्देशन दिएको छ ।
आफ्नो चुनाव क्षेत्रमा भएको आमसभा वा कोणसभाका लागि मञ्च बनाउँदा लागेको खर्च चुनाव सकिएको १५ दिनभित्र पेश गर्न उम्मेदवारहरुलाई निर्देशन दिएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।








