स्वतन्त्र उम्मेदवार भण्डारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाको समर्थन

धनकुटा । प्रतिनिधि सभामा एक मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाले समर्थन गरेको छ । उम्मेरदवार विहीन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीलाई समर्थन गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश १ का सदस्य रोजन बरालले छवि, एजेन्डा, विचारलगायतका कुरालाई आधार मान्दा भण्डारी समर्थन योग्य भएकाले पार्टीले समर्थन गर्ने निर्णय गरेको जानकारी दिए ।

भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछि उनलाई सहयोग र समर्थन गर्न कै लागि आफूहरुले उम्मेदवारी नदिएको बताए ।

पुस्तैनी राजनीतिलाई आजिवन पेशा बनाएकाहरु, पटक पटक परिक्षण भइसकेकाहरुका असफलका बदलामा सक्षम र योग्यलाई राजनीतिमा अघि बढाउने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी सधैं सकारात्मक रहेको बरालले बताए ।

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रहेका भण्डारीले गठबन्धनले उम्मेदवारी टुंग्याउनु एक महिना अघि नै पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनले उम्मेदवारी दिएपछि मात्रै माओवादी केन्द्रले कारबाही गरेको थियो ।

भण्डारी २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन धनकुटा क्षेत्र नम्बर १ बाट संविधानसभामा निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रमा भण्डारी पराजित भएका थिए ।

धनकुटामा प्रतिनिधि सभामा भण्डारी सहित नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र कुमार राई, गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमारबहादुर थापा, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका विश्वमित्र लावती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीका आरामकुमार लिम्बु र एकीकृत शक्ति नेपाल पार्टीका रमेश राईले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 19 =