एमालेको चुनावी घोषणापत्र : धरातल टेक्ने प्रयास

काठमाडौँ । नेकपा एमाले प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावका लागि ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । चुनावका बेला घर घरमा ग्याँसको पाइपलाइन पुर्‍याउने जस्ता एजेण्डा पस्किने, पुरा गर्ने उस्तै दृढता देखाउने तर, कार्यान्वयनको तहमा केही पनि नगर्ने वा गर्न नसक्ने विगतका प्रवृतिलाई यसपटक एमालेले छाडेको छ । ०७४ मा देखाएका सपनाहरूलाई समेत छाडेर कतिपय विषयहरू आएका छन् । कार्यान्वयनको तहमा सुरुवात नै गर्न नसक्ने विषयलाई छाड्ने नीतिले पनि एमालेको घोषणापत्रले धरातल टेक्ने प्रयासमा मद्दत गरेको देखिन्छ ।

होटल याक एण्ड यतीबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणापत्रले मुख्य २० विषय पुरा गर्ने दृढताका साथ पस्केको छ जो कार्यान्वयनको तहमा जान सक्ने प्रकृतिकै देखिन्छ । सबैभन्दा पहिले एमालेले ‘समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने’ भनेको छ । यसका लागि सरकार बनेको पहिलो दिनदेखि नै कार्यान्वयनका लागि पहल गर्न सकिन्छ । संरचनागत सुधारका लागि चाहिने केवल इच्छाशक्ति हो । इच्छाशक्ति भएपछि नीतिगत सुधार पनि पुरा हुन सक्छ ।

‘राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने’ एमालेको अर्को प्रतिबद्धता छ । ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने प्रतिबद्धतालाई एमालेले निरन्तरता दिएको छ । स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने, सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने, ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने, ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने विषय एमालेको चुनावी घोषणापत्रमा छ ।

०७४ मा देखाएका सपनाहरूलाई समेत छाडेर कतिपय विषयहरू आएका छन् । कार्यान्वयनको तहमा सुरुवात नै गर्न नसक्ने विषयलाई छाड्ने नीतिले पनि एमालेको घोषणापत्रले धरातल टेक्ने प्रयासमा मद्दत गरेको देखिन्छ ।

सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निःशुल्क दिने घोषणा एमालेको छ । सबैलाई स्वच्छ पिउनेपानी उपलब्ध गराउने विगतको प्रतिबद्धतालाई नयाँ रूपमा निरन्तरता दिइएको छ । वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत् निःशुल्क गर्ने भनेको छ । हाल २० युनिटसम्म निःशुल्क विद्युत् कार्यान्वयनमै छ ।

‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने, सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने, ‘व्यवस्थित सहर : स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने, सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने, सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने, सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने, ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने, सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने, ‘सभ्य समाज ः मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने, प्रतिव्यक्ति आय दोब्बर गर्ने नीति लिने एमालेको प्रतिबद्धता छ । सुन्दा राम्रा लाग्ने र कार्यान्वयनमा लैजान इच्छाशक्ति भए पुग्ने यस्ता नीतिहरू कार्यान्वयनमा नेतृत्व जिम्मेवार भए पुग्छ ।

घोषणापत्र सार्वजनिक गरेपछिको संवादमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले ल्याएको घोषणापत्र देश विकासको मार्गचित्र भएको बताए । उनले भने, ‘घोषणापत्र जनतालाई अलमल्याउन, छक्काउनका लागि होइन, देश विकासको मार्गचित्र हो । विकासको निम्ति एउटा संकल्प हो, एउटा प्रतिबद्धता हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =