काठमाडौँ १ : ‘रि–म्याच’मा प्रकाशमान र रविन्द्र, नयाँ अनुहारलाई कति चुनौती ?

काठमाडौँ । मुलुकको केन्द्रीय राजधानी काठमाडौं क्षेत्र नम्बर १ मा सबैको आँखा गडेको छ । आगामी मंसिर ४ हुने निर्वाचनमा काठमाडौँ १ मा कसले बाजी मार्ला भन्ने विषय यतिबेला सबैको चासो बनिरहेको छ ।

काठमाडौँ १ मा सत्तारुढ गठबन्धनबाट उमेदवार बनेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह पाँचौपटक पनि जित्ने दाउमा छन् । २०७४ को चुनावमा प्रकाशमान सिंहसँग तत्कालीन विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रको लडाइँ चलेको थियो ।

चुनावी लडाइँमा झिनो मतले मिश्र पछारिए । २०५१, ०६४, ०७० र ०७४ गरी चार पटक काठमाडौँ १ बाट प्रकाशमान विजयी भइसकेका छन् । ०७४ मा झिनो मतले विवेकशील साझाका मिश्र पराजित भएका थिए । उनै मिश्र फेरि प्रकाशमानसँग भिड्न आएका छन् । ‘रिम्याच’मा छन् रविन्द्र र प्रकाशमान ।

यसअघि विवेकशीलबाट भिडेका रविन्द्रको बाटो यसपटक फरक छ । उनी राप्रपाबाट काठमाडौँ १ मा चुनावी प्रतिस्पर्धामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्रले काठमाडौँ १ का मतदातासमक्ष पुगेर पटकपटक जिताएर पठाउनुभएको नेताले तपाइँको लागि के गरे रु भन्दै प्रश्न गरिरहेका छन् ।

सानो भूगोल तर ठूलो संख्यामा मतदाता रहेको काठमाडौँ १ मा नेकपा एमालेले युवा नेता किरण पौडेललाई चुनावी मैदानमा खटाएको छ । युवा नेता पौडेल काठमाडौँ १ मतदातासमक्ष चिरपरिचित छन् । उनी सो क्षेत्रमा पहिलो पटक चुनावी मैदानमा आएका हुन् । सांसदको चुनावको लागि उनी नयाँ अनुहार हुन् । पुरानो अनुहारको लागि ठूलो चुनौती बनेर खडा भएका छन् ।

चार दशकदेखि राजनीतिमा सक्रिय, चार पटक चुनाव जितेर ‘पटकपटक मन्त्री भएका नेता प्रकाशमानको लागि होस् वा, अहिले फरक पार्टीबाट चुनावी मैदानमा आएका रविन्द्रको लागि एमालेका नेता पौडेल आफैँमा युवा र स्थानीय तहमा परिचित भएका कारण पुराना अनुहारको सामु अग्लो ठूलो पिल्लर हुन् सजिलै लडाउँछन्’ एमालेका एक नेताले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल पनि सोही क्षेत्रमा उमेदवार बनेका छन् । नेपाल मजदुर किसान पार्टीबाट हरिशरण श्रेष्ठ, विवेकशील साझा पार्टीबाट शंकर बन्जाडे, हाम्रो नेपाली पार्टीबाट डम्बर शाह, जनमत पार्टीबाट हरेन्द्र चौधरीलगायतले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट मिरा विष्ट, देव शर्मा, निर्जल शाह, संगीता बोगटी, सुनिता बसेल, गोमा खतिवडा अधिकारी, दुर्गाप्रसाद लिम्बू, सीता तामाङ केसी, कुलबहादुर तामाङ उम्मेदवार छन् ।

काठमाडौँ १ को हिसाब किताब
काठमाडौं क्षेत्र नम्बर १ सानो तर मतदाता धेरै भएको क्षेत्र हो । काठमाडौं महानगरका वडा १०, ११, २९ र ३१ वडा यस क्षेत्रमा पर्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा अहिले ४५ हजार १८ जना मतादाता छन् ।

अहिलको स्थानीय तहको चुनावमा यस क्षेत्रमा नेपाली कांग्रेसले ९ हजार ८९५, मत ल्यायो । नेकपा एमालेले ९ हजार ५ सय ४१ मत ल्याउन सफल भयो । नेकपा माओवादी केन्द्रले ११ सय ५९ मत ल्यो । राप्रपा नेपालको ११ सय ४९ र विवेकशील साझाको २ सय ७३ मत आएको थियो ।
स्थानीय तहको चुनावमा यस क्षेत्रमा कांग्रेसले बढी मत ल्याएको देखिन्छ । चार वडामध्ये १०, ११ र २९ मा कांग्रेस र ३१ नम्बर वडामा एमालेले बढी मत ल्याएको पाइन्छ ।

यद्यपी यस क्षेत्रमा स्थानीय तहको चुनावको नतिजालाई मात्र आधार मानेर हेर्न मिल्दैन । भ्रष्टाचारविरुद्ध दह्रो साथ उभिएको नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलजस्ता सादा जीवनका नेता पनि चुनावी मैदानमा छन् । गठबन्धनको भोट सबै प्रकाशमानलाई जान्छ भन्ने आधार पनि काठमाडौँ १ मा देखिएको छैन । फरक बाटोबाट आएका रविन्द्र मिश्रलाई अहिले कुन नजरले मतदाताले हेर्छन् त्यो पनि अहिले नै आंकलन गर्न कठिन भएको छ । जेहोस् काठमाडौँ १ मा पकडको भोट तितरबितर भएर बाँडिने देखिएको छ ।

पटकपटक जित्दै आएका प्रकाशमान सो क्षेत्रमा कम्युनिष्टको किल्ला आफैँले तोडेको दावी गर्छन् । उनी आफ्नो जित सुनिश्चित भएको बताउँछन् । भावी प्रधानमन्त्री आफैँ बन्ने दावी गर्दै प्रकाशमान मतदातासमक्ष पुगिरहेका छन् ।

यता, रविन्द्र मिश्र पहिला जम्मा ४०० मतले पराजित भएको बताउँदै मतदाताले आफूलाई यसपटक अवश्य रोज्ने बताइरहेका छन् । मिश्रले चरम राजनीतिक हस्तक्षेपको अन्त्य, भ्रष्टाचार नियन्त्रण तथा सुशासनको नारा लिएर काठमाडौँ १ का मतदातालाई भेटिरहेका छन् ।
एमालेका नेता पौडेल पनि आफ्नो जितको दावी गरिरहेका छन् । युवा राजनीतिबाट उदाएका पौडेल एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष हुन् । उनले समृद्धि र सुशासन, युवा नेतृत्वको नारा अघि सार्दै मतदाता समक्ष पुगेका छन् ।

यस्तै नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा नेता पुकार बम एउटै व्यक्तिले सिंहदरबारभित्र पहुँच र पद होल्ड गर्ने कार्य बन्द गर्न मतदातासमक्ष आग्रह गरिरहेका छन् ।

प्रहरी सेवाबाट राजानीमा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्नलाई आफ्नो उम्मेदवारी रहेको भन्दै मतदाताको घरघरमा पुगिरहेका छन् । समग्रमा हेर्दा यस क्षेत्रमा पुरानो अनुहारको लागि नयाँ अनुहार ठूलो चुनौती बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *