नवलपरासी-१ : हृदेश त्रिपाठी कि विनोद चौधरी ? यस्तो छ अंकगणित

काठमाडौँ । मङ्सिर ४ को चुनावमा हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ । यस क्षेत्रबाट काँग्रेसका केन्द्रीय सदस्य एवं नेपालका खर्बपति विनोद चौधरी र जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदेश त्रिपाठीबीच प्रतिस्पर्धा हुँदैछ ।
पश्चिम नवलपरासीका दुई निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रको चर्चा सबैभन्दा बढी रहेको छ । सो क्षेत्रबाट चार पटक लगातारसहित पाँच पटक निर्वाचन जित्दै पटकपटक मन्त्री समेत बनेका राजनीतिका चतुर खेलाडी मानिने हृदेश त्रिपाठी र विश्वकै धनाढ्यको सूचीमा रहेका र काँग्रेस सभापति देउवाको विश्वास जित्ने पात्र विनोद चौधरी भएकाले यी दुई नेताको भिडन्तलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।
नेता त्रिपाठी विघटित संविधानसभामा एमालेको चुनाव चिन्ह लिएर जित्दै प्रतिनिधि सभा सदस्य बनेका थिए । उनी ओली प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको भूमिकामा थिए ।
विनोद चौधरी भने पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । चौधरी दोस्रो संविधान सभामा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद बनेका थिए भने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।
त्यस्तै, ०७४ मङ्सिर १० गते भएको प्रतिनिधिसभाको निर्वाचनमा यस क्षेत्रमा हृदेश त्रिपाठी विजयी भएका थिए । . उनले त्यसबेला ३८ हजार ५९२ मत पाएका थिए । दोस्रो भएका नेपाली काँग्रेसका देवकरण प्रसाद कलवार (सन्तु) ले ३३ हजार ५९१ मत पाएका थिए । उनी यस पटक प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । सो प्रदेशसभामा सत्ता गठबन्धनबाट माओवादीको भागमा परेपनि कलावरले काँग्रेसबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
गत निर्वाचनमा त्रिपाठीले बाम गठबन्धनसँग तालमेल गरेर चुनाव लडेका थिए । त्रिपाठीले यस क्षेत्रबाट काँग्रेसका कलवारलाई ५ हजार एकको मत अन्तरले पराजित गरेका थिए ।
यस पटक एमालेको समर्थनमा हृदेश त्रिपाठी आफ्नै पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका छन् भने विनोद चौधरी काँग्रेसबाट उम्मेदवार बनेका छन् । साथै चौधरीलाई सो क्षेत्रमा नेपाली कांग्रेसका प्रभावशाली नेता एवं काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको साथ पाउँछन् कि पाउँदैनन् भन्नेमा जिल्लावासीको चासोको विषय बनेको छ । संविधानसभा सदस्य समेत रहेका खनालले चौधरीका लागि मुटुमा ढुङ्गा राखेर भोट माग्न परेको सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै आएका छन् । त्यसैले पनि उनको साथ कति मिल्छ भन्ने प्रश्न कायम रहेको छ ।
स्थानीय तह निर्वाचन परिणामको विश्लेषण
नवलपरासी १ नम्बर क्षेत्र अन्तर्गत बर्दघाट नगरपालिकाका १६ वटा वडा, प्रतापपुर गाउँपालिकाका ९ वटा वडा, सुस्ता गाउँपालिकाका ५ वटा वडा र सरावल गाउँपालिकाका ४ वटा वडा पर्दछन् ।
बर्दघाट नगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने १६ वटा वडामध्ये काँग्रेसले ११ वटा, एमालेले २ वटा, माओवादी केन्द्र, जनता समाजवादी र स्वतन्त्रले एक–एक वडामा जित हासिल गरेको छ । १६ वटा वडामा काँग्रेसले पाएको कुल मत १६ हजार २६७ छ भने गठबन्धनको कुल मत १७ हजार ९४४ रहेको छ । त्यस्तै एमालेले १६ वडामा १४ हजार ४१८ मत प्राप्त गरेको छ ।
त्यस्तै प्रतापपुर गाउँपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ९ वटा वडामध्ये काँग्रेसले ४ वटा, राप्रपाले २ वटा, एमाले, माओवादी र जनता प्रगतिशील पार्टीले एक–एक वटा वडा जितेको छ । यी ९ वडाका वडाध्यक्षहरूले पाएको मत जोड्दा काँग्रेसले ४ हजार ५९२ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत ६ हजार ५९९ रहेको छ । त्यस्तै एमालेले २ हजार ९४० मत प्राप्त गरेको छ भने जनता प्रगतिशील पार्टीले २ हजार ८७७ मत ल्याएको छ । यस्तै हृदेश त्रिपाठीलाई समर्थन गरेको जनता समाजवादी पार्टीले १८ सय ४२ मत प्राप्त गरेको छ । त्रिपाठीलाई समर्थन गर्ने पार्टीहरूको कुल मत ७ हजार ६५९ मत रहेको छ ।
त्यस्तै सुस्ता गाउँपालिकाका ५ वटा वडामध्ये काँग्रेसले ३ र एमालेले २ वटा वडामा जितेको छ । यी ५ वडाका वडाध्यक्षहरूले पाएको मत जोड्दा काँग्रेसले ६ हजार ४२ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत ६ हजार ९९५ रहेको छ । त्यस्तै एमालेले ५ हजार ६८४ मत ल्याएको छ । यस्तै हृदेश त्रिपाठीको पार्टीसहित समर्थन गर्ने पार्टीहरूको कुल मत ६ हजार ३३३ मत रहेको छ ।
त्यस्तै सरावल गाउँपालिकाका ७ वडा मध्ये वडा नम्बर ४,५, ६ र ७ निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यी ४ वटा वडामध्ये काँग्रेसले २, एमाले र माओवादीले एक–एक वडामा जितेको छ । यी ४ वडाका वडाध्यक्षहरूले पाएको मत जोड्दा काँग्रेसले ७ हजार १४९ मत ल्याएको छ । सत्ता गठबन्धनको कुल मत ९ हजार ६१ रहेको छ । त्यस्तै एमालेले ३ हजार ७०८ मत ल्याएको छ । यस्तै हृदेश त्रिपाठीको पार्टीसहित समर्थन गर्ने पार्टीहरूको कुल मत ४ हजार २२ मत रहेको छ ।
पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा पर्ने चार स्थानीय तहका जम्मा ३४ वटा वडामा काँग्रेसले ३४ हजार ५० मत पाएको छ । त्यस्तै सत्ता गठबन्धनको वडा अध्यक्षले पाएको कुल मत जोड्दा ४१ हजार ७११ हुन आउँछ । त्यस्तै एमालेले २६ हजार ७ सय ५० मत प्राप्त गरेको छ भने हृदेश त्रिपाठीको पार्टीसहित समर्थन गर्ने पार्टीहरूको कुल मत ३२ हजार ३६४ रहेको छ ।
यसरी हेर्दा पश्चिम नवलपरासी–१ का कुल ३४ वडामा वडा अध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन ९ हजार ३४७ मतले अगाडी देखिएको छ ।








