सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता
२०७९ कार्तिक १४ गते

फाइल फोटो
काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेले बालिकालाई बलात्कार गरेको आरोपमा सोमबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । उनलाई १० देखि १२ वर्षसम्म कैद गर्न माग गर्दै सरकारी वकिल कार्यालय काठमाडौँले अभियोजन पत्र दायर गरेको हाे ।
उनीविरुद्ध परेको जाहेरीको आधारमा प्रहरीले अनुसन्धान सकेर अघिल्लो शुक्रबार नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।
आफूमाथि लागेको आरोपको सन्दीपले भने अस्वीकार गरेका छन् । यसअघि सरकारी वकिल कार्यालयले गराएको बयानमा उनले आरोपको खण्डन गरेका हुन् ।
सन्दीप विगत ७ वर्षदेखि व्यावसायिक रुपमा क्रिकेट खेल्दै आएका छन् । सन् २०१६ देखि उनी राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका हुन् । सन् २०२१ डिसेम्बरमा उनी राष्ट्रिय टोलीको कप्तान भएका थिए ।
राष्ट्रिय टिमकै देव खनालसँग चिनजान भएकी किशोरीले सन्दीपमाथि बलात्कारको आरोप लगाएकी थिइन् । सन्दीपले पनि खनाल मार्फत नै ती किशोरीलाई चिनेको बयान दिएका छन् । देव खनालले सन्दीपसँग खिचेको फोटो ती किशोरीलाई पठाएका थिए । किशोरीले नै स्न्यापच्याटमा आफूलाई फ्रेन्ड रिक्वेस्ट पठाएको उनको बयान छ । टिमकै अन्य पनि उनीसँग साथी रहेको थाहा पाएपछि आफूले रिक्वेस्ट एसेप्ट गरेको सन्दीपको बयान छ ।
किशोरीले पटक पटक आफूलाई फोटो र भिडिओ पठाउने गरेको तर आफूले सामान्य उत्तर मात्रै दिने गरेको सन्दीपले बताएका छन् । कुराकानीकै क्रममा किशोरीले सन्दीपसँग एकदमै धेरै भेट्न खोजेको र आफूले समय छैन भनेको सन्दीपले बयानमा भनेका छन् । २ महिनापछि खेल सकेर फर्केपछि भेट्न भन्दा पनि बारम्बार म्यासेज गरी भेट्न कर गरेपछि दयनीय स्थितिमा रहेकाले केही सहयोग समेत चाहिएको भनेपछि भेटेको सन्दीपको बयान छ ।
‘तपाईँलाई भेटी केही व्यक्तिगत कुराहरू सेयर गर्न मन छ भनेकोमा मैले के भयो म के सहयोग गर्न सक्छु ? भनी म्यासेज गर्दा म भेटेर मात्रै भन्न सक्छु भनेको हुँदा ठिकै छ मलाई अहिले फुर्सद छैन फुर्सद मिल्यो भने भेटौँला भनेको थिएँ’, सन्दीपले बयान दिएका छन्, ‘भदौ ५ गते साँझ ४ बजेतिर किशोरीसँग फोनमा कुरा गरेको थिएँ । त्यतिबेला पनि भेट्न प्रस्ताव गरेकी थिइन् । तर मेरो केही मिटिङ थियो र म व्यस्त पनि भएकाले मैले निजलाई म आज अलि व्यस्त छु आज भेट्न सम्भव छैन भन्दा उनले काम सकेर आउनु म होस्टमै पर्खिरहन्छु भनेकी थिइन् ।’
साँझ मिटिङ सकिएपछि बेलुका ७ बजेतिर होस्टल जाने बाटो सोधेको तर उनले होस्टलको ठेगाना पनि नबताएको सन्दीपले भनेका छन् । त्यसपछि उनी लिटल काठमाडौं रेस्टुरेन्ट नजिकै कारमा कुरेर बसेका थिए । त्यसको २÷३ मिनेटपछि किशोरी त्यहाँ पुगेकी थिइन् ।
किशोरी आएर गाडीमा बसेपछि आफूले के छ तिम्रो योजना भनेर सोध्दा उनले लेट्स गो टु नगरकोट भनेको तर आफूले नगरकोट जान सम्भव छैन बरु दरबारमार्ग जाऊँ अनि कफी खाऊँ भन्दा पनि आफूले बिहानैदेखि नगरकोट जाने मुड बनाएको किशोरीले बताएपछि आफू भोलि गेम खेल्न जाने भएकाले नमानेको सन्दीपले भनेका छन् ।
किशोरीले त्यसपछि पनि जिद्दी गर्दै एक छिन भए पनि नगरकोट पुगेर आउँ भनेर कर गरेपछि खाजा खाएर फिर्ता आउने सर्तमा गएको सन्दीपको बयान छ ।
‘उनको चित्त नदुखोस् भनेर उनको कुरामा सहमति जनाएर नगरकोट गएका थियौँ । उनको पूर्व तयारीको बारेमा मलाई केही जानकारी थिएन । बाटोमा कुरा हुँदा उनले आफू १२ कक्षामा पढिरहेको र १९ वर्षको भएको बताएकी थिइन्’, बयानमा सन्दीपले भनेका छन्, ‘भक्तपुरको दरबार स्क्वायर पुग्दा प नियतै कतै खाजा खाऊँ भनेको थिएँ । तर उनले होस्टल जतिबेला पनि खुल्ला हुन्छ । मलाई नगरकोटबाट साँझको दृश्य अवलोकन गर्न मन छ भनेकाले नगरकोट गएका थियौँ ।’
बाटोमा देव खनाल र ती किशोरीको सम्बन्धका बारेमा पनि सन्दीपले सोधेका थिए । किशोरीले देव खनालको खेल मन परेकाले २०२२ मार्चमा सामाजिक सञ्जालबाट चिनजान भएको बताएकी थिइन् । नगरकोटमा उनीहरुबिच धेरै कुराकानी क्रिकेट र संगीतको बारेमा भएको बताएका छन् ।
२०७९ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित









