एकीकृत समाजवादीको घोषणापत्र : ‘नयाँ बोतलमा पुरानै रक्सी’

काठमाडौँ । दलहरुको घोषणापत्रको भीडमा नेकपा एकीकृत समाजवादीको घोषणापत्र ‘नयाँ बोतलमा पुरानै रक्सी’ भरेको अनुभूति भएको छ । एकीकृत समाजवादीको घोषणापत्रमा नयाँ कुनै एजेण्डालाई समेटिएको छैन । पुरानै एजेण्डालाई सापट लिएर एकीकृत समाजवादीले घोषणापत्र तयार पारेको देखिएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव गरेको छ, यो प्रस्ताव कुनै नयाँ होइन । सबै दलहरु नै निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा पुगेका छन् । सरल र कम खर्चिलो निर्वाचन प्रणाली बनाउने भनेर समाजवादीले घोषणापत्रमा उल्लेख गरेको छ ।
‘विकास निर्माणका एजेण्डालाई ओझेलमा पारेर निर्वाचन प्रणाली सुधार गर्छु भन्नु कति उपयुक्त हुन्छ’ नेकपा एमालेका एक नेताले भने, ‘विगतमा आइरहेका विषय राखेर कसरी नयाँ घोषणापत्र बन्छ, यो त अघिल्लो चुनावमा नेकपा एमालेले एजेण्डामा राखिसकेको छ ।’ नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले एमालेले अघिल्लो पटक घोषणापत्रमा राखेको विषयलाई नै आफ्नो घोषणापत्रमा राखेको एमालेका ती नेताले आरोप लगाए ।
‘सुशासन र पारदर्शीताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने, भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्त यी सबै एमालेले यसअघि नै आफ्नो घोषणापत्रमा राखेको थियो । एकीकृत समाजवादीले अहिले राख्यो’ एमालेका ती नेताले आरोप लगाए । संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने, छिटो, छरितो र समय सीमाभित्र विकास निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख छ ।
नयाँ विकास निर्माणको विषयहरु एकीकृत समाजवादीको घोषणापत्रमा उल्लेख नभएको आरोप एमालेका नेताहरुले लगाएका छन् । ‘परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने भन्ने विषय घोषणापत्रमा राख्नुपर्ने विषय हुन् र रु एमालेका ती नेताले भने, ‘एजेण्डामा कुनै नयाँ छैन, पुरानै विषय राखेर जनताको मन जित्न सकिदैन, एउटा स्थानीय पालिकाको भन्दा पनि कमजोर छ, घोषणापत्र, त्यस्तो घोषणापत्रले कसरी जनताको मन जित्ला ?
एकीकृत समाजवादीका एक नेताका अनुसार घोषणापत्रमा नयाँ विषय थुप्रै रहेका छन् । ती नेताले भने, ‘आरोपको लागि आरोप लगाउनेलाई के गर्न सकिन्छ र, एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलको विकास गर्नेलगायत दर्जनौँ एजेण्डालाई अघि सारेको छ ।’ उनका अनुसार समाजवाद उन्मुख घोषणापत्र एकीकृत समाजवादीले ल्याएको छ ।








