एकीकृत समाजवादीको घोषणापत्र : खर्चिलो निर्वाचन प्रणालीकाे विकल्प खोज्छौँ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभाका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रको नीतिगत प्रतिबद्धतामा संविधान र व्यवस्थाको रक्षा तथा हालको निर्वाचन प्रणाली परिवर्तनमा जोड दिएको छ ।
‘हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ समाजवादीको घोषणापत्रमा उल्लेख छ।

अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र विकासका निम्ति बाधक भएकाले यसको विकल्प खोज्नुपर्ने पार्टीको भनाई छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, उद्योग धन्दाको विकास,कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सिँचाइमा जोड दिनेगरी घोषणापत्र तयार गरेको सो पार्टीले पूर्व–पश्चिम महानहर निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।








