नेकपा एसको घोषणापत्र : आर्थिक-सामाजिक रूपान्तरणको अभियान चलाइने (पूर्णपाठ)

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले अहिलेको निर्वाचन प्रणाली सुधार गर्ने प्रस्ताव गरेको छ। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सोमबार सार्वजनिक गरिएको घोषणापत्रमा सो कुरा उल्लेख छ।

‘हामी यस निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन चाहन्छौँ । यसै पटक पनि हाम्रो पार्टीले कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छ र हाम्रा उम्मेदवारहरूले पनि कमभन्दा कम खर्चिलो चुनाव प्रचार अभियान सञ्चालन गर्ने छन्,’ समाजवादीको घोषणापत्रमा उल्लेख छ।

नेकपा एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले सुशासन र पारदशीताको लागि घरदैलोमै प्रभावकारी सेवा दिनुपर्ने बताएको छ। ‘भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्ण पारदर्शिता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अंगहरूको कार्य सम्पादन गर्नुपर्छ,’ घोषणापत्रमा भनिएको छ, ‘संघीयताको मर्म अनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने, छिटो, छरितो र समय सीमाभित्र विकास निर्माणलगायत सबै काम सम्पन्न गर्ने प्रणालीको विकास गर्ने हाम्रो दृढप्रतिज्ञा छ । हामी यी प्रतिज्ञामा सधै अडिग रहने छौँ।’

समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि कृषिको आधुनिकीकरण, स्वदेशी कच्चा पदार्थ आधारित उद्योग, ऊर्जालगायतका क्षेत्रमा उत्पादन एवं व्यापार वृद्धि तथा पर्यटन, व्यवस्थापन र सूचना तथा प्रविधी लगायतका सेवा क्षेत्रको विकास एवं विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने मुख्य आर्थिक कार्यभार अघि सारेको छ।

‘हामी वर्तमान नेपाली समाजमा व्यापक रूपले आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादका आधार निर्माण गर्नुपर्दछ भन्ने पक्षमा छौँ । द्रुततर आर्थिक विकाससहितको समृद्धिको यात्राबाट अगाडि बढेर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ । यसलागि पनि हामीलाई जनताको साथ अवश्य प्राप्त हुनेछ,’ घोषणापत्रमा उल्लेख छ।

पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =