राप्रपाको घोषणापत्र : अग्रगमन कि पश्चगमन ?

काठमाडौँ । सिङ्गापुर अग्रगामी कि पश्चगामी ? त्यहाँ लोकतन्त्र छैन। चीन अग्रगामी कि पश्चगामी, त्यहाँ पनि लोकतन्त्र छैन। बेलायतमा चर्चका २६ जना पादरी सिधै राष्ट्रिय सभामा मनोनित हुन्छन्, त्यो देश अग्रगामी कि पश्चगामी रु डेनमार्क क्रिश्चियन राष्ट्र हो, त्यो देश अग्रगामी कि पश्चगामी? अस्ट्रेलियाले अझै पनि बेलायतकी महारानीलाई राष्ट्रप्रमुख मान्छ, त्यो देश अग्रगामी कि पश्चगामी राप्रपालाई पश्चगमन भनिरहँदा त्यही पार्टीका नेता रविन्द्र मिश्रले एक अन्तर्वार्तामा उल्टो पत्रकारसँग जवाफ मागिरहेका थिए । अन्तर्वार्तामा उनले भने, ‘नेपालमा अग्रगमन र पश्चगमनको भाष्य नै गलत ढङ्गबाट निर्माण भएकोले यो देशको स्वाधिनता, सार्वभौमिकता, स्वाभिमान, इतिहास, धर्म, संस्कृति सबैमा नराम्रो आघात पुगिरहेको छ। मेरो राजनीतिक प्रस्ताव त्यसैलाई समयमैं सच्याउने प्रतिबद्धता हो।’

राप्रपाले आज घोषणापत्र ल्याएको छ । राप्रपाका नेताहरु यसलाई अग्रगमनकारी घोषणापत्र भनेर व्याख्या गरिरहेका छन् भने अन्य दलहरुलाई राप्रपाको घोषणापत्रलाई पश्चगमन मानिरहेका छन् ।
राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डालाई आफ्नो घोषणापत्रमा समेटेको छ । राप्रपाका एक केन्द्रीय नेताले भने, ‘जुन पार्टीको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेण्डा समेटएको छ, त्यो पार्टीको घोषणापत्र कसरी पश्चगमन हुन्छ रु यो घोषणापत्रबाट ठूला दल डराएका छन्, थर्थर कामेका छन् । राप्रपाको अग्रगमन घोषणापत्रले जनताको मन जितेको छ ।’

राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्थालाई राखेको छ । राजसंस्थालाई अभिभावकीय भूमिकामा राखेको आधारलाई लिएर पश्चगमन भन्नेहरुलाई केही भन्न नसकिने ती नेताको भनाइ छ । उनले भने, ‘प्रदेश राखेर सय राजा पाल्न सकिदैन, एउटा राजालाई फालेर सय राजा किन राखियो, यसलाई खारेज गर्नुपर्छ । हामीले घोषणापत्रमा प्रदेश खारेज गर्न भनेका छौँ ।’ पूर्ण समानुपातिक संसद हुनुपर्ने राप्रपाको घोषणापत्रमा उल्लेख छ । ‘केन्द्र र बलियो स्थानीय तह भए पुग्छ, हामीले यही भनेका छौँ’ राप्रपाका ती नेताले भने, ‘हाम्रो अग्रगमन घोषणपत्रबाट शीर्ष नेताहरु नै काँपिरहेका छन्।’

राप्रपाको घोषणापत्रलाई सत्तारुढ गठबन्धनका नेताहरुले पश्चगमन भनिरहेका छन् । नेपाली कांग्रेसका एक नेताले भने, ‘अब राजतन्त्र फेरि फर्केर आउने सपना नदेखे हुन्छ, राप्रपा राजतन्त्रको वकालत गरेर पश्चगमन बनिरहेको छ ।’ ती नेताका अनुसार राजवादीहरुको पार्टीको बखान गरेर अब समय खेर नफालौँ।

राप्रपाले आफ्नो घोषणापत्रमा देशको अभिभावकका रूपमा राष्ट्रपतिको सट्टा राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद् र हिन्दु राष्ट्रलाई प्रमुख एजेण्डा बनाएको छ।

राजनीतिक दलरहित संवैधानिक परिषद् निर्माण, नेपालको शान्ति क्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने, असंलग्न र पञ्चशीलमा आधारित सन्तुलित परराष्ट्र नीतिको अवलम्बन, नेपालको भूभाग कसैका विरुद्ध प्रयोग गर्न नदिनेलगायतका विशेषता राप्रपाको घोषणापत्रमा अटाएका छन् । यसलाई राप्रपाले अग्रगमन घोषणपत्रको रुपमा लिएको छ भने अन्य पार्टीले राजसंस्थाको वकालत गरेको भन्दै पश्चगमनको आरोप लगाएका छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *