गठबन्धनको जीत सुनिश्चित छ : आरजु राणा

जनकपुरधाम । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको दाबी गरेकी छिन् ।

आइतबार जनकपुरधाम विमानस्थलमा कुरा गर्दै उनले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आबद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरु देशव्यापीरुपमा आतुर रहेकाले जीत सुनिश्चित रहेको बताईन् ।

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनको जीत सुनिश्चित रहेको उनले दाबी थियो ।

राणाले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरिन् ।

राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा पनि सखिन् ।

नेत्री राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरु धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गरिन् ।

राणा भन्छिन्, “वर्तमान देउवा सरकार निर्माण हुँदा देश कोरोना महामारीमा थियो, नागरिकले पर्याप्तमात्रामा खोप पाउन सकेका थिएनन् । प्रधानमन्त्रीजीले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राख्नुभयो र विदेशी दाताहरूसँग अनुरोध गर्नुका साथै खोप खरिद गरेरसमेत ल्याइ देशमा खोप उपलब्ध गराउनुभयो । यो सरकार निर्माण भएपछि धेरै पहिलेदेखि रोकिएर रहेका ठूला परियोजनादेखि लिएर विकास निर्माणका काम अघि बढेका छन्, वैदेशिक सम्बन्ध र सहायता मजबुद हुँदै गएको छ ।”

नेत्री राणा आइतबार छठ पर्वका अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम पुगेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *