काठमाडौँ-४ मा गगन कि राजन ?

काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा गरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफाइल भिडन्त रहेको एक क्षेत्र हो काठमाडौँको क्षेत्र नम्बर ४ हो । यस क्षेत्रबाट काँग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका नेता डा. राजन भट्टराईबीच प्रतिष्पर्धा हुँदैछ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रको चर्चा सबै भन्दा बढी रहेको छ । गगन थापाले चुनावपछि प्रधानमन्त्रीको दाबि गर्ने भनेका कारण र केपी ओली निकट नेता भट्टराई पनि एमाले सरकारमा आएमा मन्त्री बन्ने सम्भावना भएका नेता भएका कारण पनि यी दुई नेताको भिडन्तलाई धेरैले चासोका साथ हेरिरहेका छन् ।

डा. भट्टराई विघटित संविधानसभामा समानुपातिक कोटाबाट सभासद भएका थिए । उनी यसअघि ओली प्रधानमन्त्री हुदा परराष्ट्र सल्लहाकारको भूमिकामा थिए । गगन थापाले भने यस क्षेत्रबाट दुई पटक जितेका छन् । गगन थापा पहिलो संबिधान सभामा समानुपातिक सांसद बनेका थिए भने दोस्रो संबिधान सभाको निर्वाचनमा यसै क्षेत्रबाट जितेका थिए भने गत आम निर्वाचनमा पनि उनले एमाले उम्मेदवार डा. भट्टराईलाई पराजित गरेर सांसद बनेका थिए ।

त्यस्तै, ०७० मंसिर ४ गते भएको संविधानसभाको दोस्रो निर्वाचनमा यस क्षेत्रमा कांग्रेसका उम्मेदवार गगन थापा विजयी भएका थिए । उनले त्यसबेला २३ हजार ३३६ मत पाएका थिए । दोस्रा भएका एमालेका उम्मेदवार निर्मल कुइँकेलले ९ हजार १३५ मत पाएका थिए । यस्तै, तेस्रो भएका माओवादीका उम्मेदवार तथा हालका उपराष्ट्रपति नन्दकिशोर पुनले ६ हजार ४४२ मत पाएका थिए ।

गत निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएर चुनाव लडेका थिए । देशभर काँग्रेसले प्रत्यक्षतर्फ केवल २३ सिट जित्दा गगन थापाले यस क्षेत्रबाट एमालेका डा. भट्टराईलाई ३ हजार ४१८ मत अन्तरले पराजित गरेका थिए । उनले गत निर्वाचनमा २१ हजार ५५८ मत ल्याएका थिए भने डा. राजन भट्टराईले १८ हजार १४० मत ल्याएका थिए । यस पटक गगन थापा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् भने डा. राजन भट्टराई एमालेबाट उम्मेदवार बनेका छन् ।

स्थानीय तह निर्वाचन परिणामको विश्लेषण
काठमाडौं ४ नम्बर क्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० र बुढानीलकण्ठ नगरपालिकाका वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् ।

काठमाडौं महानगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने ४ वटा वडामध्ये काँग्रेसले ३ र एमालेले एक वडामा जित हासिल गरेको छ । यी ४ वटा वडामा काँग्रेसले पाएको कुल मत ७ हजार ८३ छ भने गठबन्धनको कुल मत ८ हजार ६४७ रहेको छ । त्यस्तै एमालेले यी चार वडामा ५ हजार ९२ मत पाएको छ ।

त्यस्तै बुढानीलकण्ठ नगरपालिकाका यस निर्वाचन क्षेत्रमा पर्ने सबै ८ वटा वडै एमालेले जितेको छ । यी ८ वडाका वडाध्यक्षहरुले पाएको मत जोड्दा कुल ११ हजार ४०५ मत ल्याएको छ भने यी ८ वडामा काँग्रेसले ८ हजार ६८० मत ल्याएको छ । त्यस्तै सत्ता गठबन्धनको यी ८ वडामा कुल मत १० हजार ३७४ रहेको छ ।

काठमाडौं क्षेत्र नम्बर ४ मा पर्ने दुई स्थानीय तहका जम्मा १२ वटा वडामा एमालेले कुल १६ हजार ४९७ मत पाएको छ भने काँग्रेसले १५ हजार १६५ मत पाएको छ । त्यस्तै सत्ता गठबन्धनको वडा अध्यक्षले पाएको कुल मत जोड्दा १८ हजार ४२३ हुन आउछ ।

यसरी हेर्दा काठमाडौँ-४ का कुल १२ वडामा वडा अध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन करिब २ हजार मतले अगाडी देखिएको छ । गठबन्धनको १६ हजार ४२३ मत छ भने एमालेको १६ हजार ४९७ मत रहेको छ ।

उम्मेदवार
यस निर्वाचनमा काठमाडौँ-४ बाट गगन थापा र डा. राजन भट्टराईसहित कुल ३१ उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ ।

यस क्षेत्रमा राप्रपाबाट डा. ठाकुर मोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीबाट रमेश डंगोल, लोकतान्त्रिक समाजवादी पार्टीबाट भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीबाट नुम नाथ प्याकुरेल, हाम्रो नेपाल पार्टीबाट अर्चन शमशेर राणा, पुनर्जागरण पार्टीबाट श्यामबाबु गौतम, नेपालका लागि नेपाली पार्टीबाट दिपक कुमार पोखरेल, मितेरी पार्टीबाट राजेश भारती, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनबादी) बाट लिला माया पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट लाल कुमारी थापा राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मंचबाट पिकेश परियार, राष्ट्रिय जनमुक्ति पार्टीबाट चेत बहादुर आले, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमुल परिवर्तन मसिहा पार्टी नेपालबाट ध्रुवराज गिरी, जनसमाजवादी पार्टी नेपालबाट खुर हरि पुडासैनी रहेका छन् ।

त्यस्तै यस क्षेत्रमा कुल १४ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जसमा श्याम राज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुन कुमार पर्साई, रोहित डंगोल, रोशन बर्मा, हेम बहादुर बोम्जन, रविन्द्र देव ढकाल, महेश्वर केसी, नवराज थापा, रुद्र प्रसाद पौडेल, कृष्ण कुमार तामाङ, दिनेश चौलागाई, काजि बहादुर कार्की र शिवेन्द्र केसी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *