तराई मधेसमा छठ पर्वको चहलपहल शुरु, यस्तो छ महत्व

काठमाडौँ । तराई मधेसमा छठ पर्वको तयारी र चहलपहल शुरु भएको छ। दशै अनि तिहारको रौनकलाई बिट मारेपछि नेपालीहरूको दैलोमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ।

दिपावली सकिए लगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री, बस्त्र, फलफुल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भिडभाड देखिन थालेको छ । कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा शुरु हुने छठ पर्व सप्तमी तिथीका दिन बिहानसम्म गरि चार दिन मनाइन्छ।

तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषि हिन्दूको प्रमुख पर्व नै छठ पूजा हो। यसपालि छठ पूजा कात्तिक १३ गते परेको छ। तर विधिवित रुपमा भने शुक्रबारदेखि नै छठ पर्व शुरु हुनेछ। दिपावलीसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल शुरु भइसकेको छ। यस्तै नदी , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।

छठपूजामा छठी मातालाई चढाइने मुख्य प्रसाद ठेकुवा हो। जुन गहुको शुद्ध पिठोमा गुण भेली र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ। यस्तै छठी मातालाइ अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा , सुन्तला, पानी सहितको नरिवाल, उखु , हरियो बोडी , पानी सिङगडा , गागल, मुला , अदुवाको बोट लगायतका फलफूल र हरियो तरकारीहरु हुन्। पूजन सामाग्री, प्रसाद र फलफूलहरु बाँसको चोयाबाट बनाइएका छैटा, दउरा टोकरी, नाङ्लो र सुपलीमा राखेर छठी माता र सूर्य भगवानलाई अर्घ दिने गरिन्छ।

वैदिक सनातन धर्मका सम्पूर्ण पर्व अनि शक्तिहरु प्रकृती अनि पृथ्वीको वरिपरि घुमेका हुन्छन् जसको प्रयोगात्मक महत्व अत्यन्तै वैज्ञानीक रहेका हुन्छन् । छठ पर्व सूर्यदेवको अनुष्ठान हो, हरेक मानवले जन्म देखि मृत्यूपर्यन्त देख्ने विशालकाय शक्ति अनि उर्जाकेन्द्र सूर्यसंगको मानवको सहअस्तित्व छठसंग सांस्कृतिक पृष्ठभूमि जोडिएको छ ।

विहान उठ्ने बित्तिकै उदाउने सूर्य, झ्यालका कुनाकाप्चावाट छिर्ने तिनका प्रकाश, वोटविरुवालाई हुर्काउने सूर्य, बादल श्रृजनागर्ने सूर्य, न्यानो दिने सूर्य लगायत यस पृथ्वीमा सूर्यको भूमिका, मानव अनि सूर्यबिचको अन्योन्याश्रित सम्बन्धलाई हजार जिब्रोभएका शेष नागले पनि ब्याख्या गर्न शायद् सक्दैनन् होला ।

षष्ठी तिथिका दिन मनाईने भएकोले यस पर्वको नाम अपभ्रंसित हुँदै छठ भएको विश्वास छ । तराईक्षेत्र केन्द्रित मनाईने छठपर्व अहिले आएर हिमाल, पहाड अनि तराई सर्वत्र प्रचलीत हुँदैआएको छ । सद्भाव अनि भातृत्वको प्रतिक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदि, तालतलैया या पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरु, केराका थम्बा, झिलीमिली बत्तिबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको लालीकिरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाईन्छ ।

छठको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनकालागि छिमेकीहरुले दिएका प्रसादहरु जस्तै केराका घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अर्घ्यस्वरुव उदाँउदो सूर्यलाई देखाएपछि प्रसादस्वरुप घर लैजाने चलन छ । छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुर्ण होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।

अरबाको दिन गाँउका युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफगर्ने चलन छ । तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ ।

तेश्रो दिन सँझिया घाटूअर्थात् साँझमा व्रतालूहरु खोला, नदी, तलाउ अथवा जलासयमा आधा पानीमा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिनेगर्दछन् । अनि चौँथो दिनको विहान एवं रितले सूर्य उदाउनु अघि नै छठ घाटमा पुगीसकि उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । तिहारमा बाँकी भएका पटका, फूलझरि अनि झिरझिरेहरुले छठघाट उज्यालो हुन्छ भने छठी माताको भजन किर्तन अनि संगीतले उक्त ठाँउको रौनक अद्वितिय हुन्छ । यसरी छठपूजाको क्रममाा बज्ने अथवा सामूहिक रूपमा गाइने पारम्परीक गीतसङ्गीतमा भोजपूरी भाषाको महत्वपूर्ण स्थान र योगदान रहेको
पाइन्छ ।

छठ मन्त्र
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *