राजनीतिसँगै व्यापारमा सक्रिय

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ ।
हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उहाँ दिउँसो भने व्यापार सम्हाल्नुहुन्छ । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहेका छन् ।
आगामी मङ्सिर ४ मा हुन लागेको प्रदेशसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकातर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ ९१० बाट उम्मेदवार छन् ।
रावलको जीवन जति सामान्य छ त्यति नै सामान्य उहाँको चुनावी प्रचारप्रसार शैली पनि छ । उहाँ एक्लै मोटरसाइकलमा चुनाव चिह्न अङ्कित झण्डा फहराउँदै बस्ती–बस्तीमा पुग्नुहुन्छ । प्रत्येक घरमा चुनावी मुद्दा सुनाउँदै मत माग्छन् ।
‘चुनाव आयो भन्दैमा व्यापार नगर्ने हो भने घर चलाउनै गाह्रो हुन्छ”, रावलले भन्नुभयो, “यही व्यापार चलेकै कारण परिवारको खर्च धान्न पुगेको छ ।’
‘मसँग चुनावमा खर्च गर्ने धेरै पुँजी छैन र पार्टीको नीति पनि त्यस्तो होइन’, रावलले भने, ‘मोटरसाइकलको इन्धनको पैसा आफै जोहो गरेको छु भने पर्चा छपाइमा पार्टीले खर्च गरेको छ ।’
वर्षौदेखि सामान्य व्यापारमा संलग्न उहाँ राजनीतिमार्फत् गरिबी न्यूनीकरण गर्न सकिनेमा विश्वस्त छन् ।
‘म आफै पनि निकै सङ्घर्ष गरेकाले गरिबी बुझेको छु, जीवनमा आइपर्ने पीडा पनि भोगेको छु’, उउनले भने, ‘मैले पाएको दुःख अरुले नपाउन् भन्ने इच्छा भएकाले राजनीतिमा होमिएको हुँ ।’








