चितवन ३ : एमाले-कांग्रेसको उमेदवार खाली, ‘भुईंकटहर’ समूह फुटेपछि कसको होला पल्लाभारी ?

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोडेको चितवन क्षेत्र नं ३ मा राजनीति गर्मागर्मी चर्को छ । यहाँ न नेकपा एमालेका आधिकारिक उमेदवार छन्, न त नेपाली कांग्रेसका । दुबै पार्टीले एकअर्कालाई सघाउने निर्णय त गरेका छन्, तर मतदाताले कति सघाउँछन् भन्नेमा उमेदवारहरु नै ग्यारेन्टी गर्न सकिरहेका छैनन् ।

गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विद्रोह गरेका ‘भुइँकटहर’ समूहले पनि यस क्षेत्रमा उमेदवारी हालेको छ । भरतपुर महानगरको मेयरमा उठेका जगन्नाथ पौडेलको समूहलाई ‘भुइँकटहर’ समूह भनेर चिनिनछ । उनै जगन्नाथ पौडेल अहिले पनि चितवन ३ बाट प्रतिनिधि सभामा उठेका छन् ।

यतिबेला ‘भुइँकटहर’ समूहको एउटा हिस्सा चोइटिएको छ । नेकपा एमालेले सघाउने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई ‘भुइँकटहर’ समूहको एउटा हिस्साले सघाउने भएको छ । कोइराला माछा चुनाव चिन्ह लिएर स्वतन्त्रबाट चुनावी मैदानमा छन् ।

पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेललगायतले स्वतन्त्र उमेदवार कोइरालालाई सघाउने निर्णय गरेका छन् । पूर्वसांसद श्रेष्ठले भने, ‘भुइँकटहर समूह फुट्यो भन्ने होइन, तर कांग्रेसबाट विद्रोह गरेका जगन्नाथ भन्दा अझ राम्रा उमेदवार केन्द्रीय सदस्य भइसकेका कोइराला मैदानमा आएपछि उनलाई सघाउने भएका छौँ ।’

उनले जगन्नाथ पौडेललाई उमेदवारी निष्क्रिय पार्नसमेत अनुरोध गरे । नेता श्रेष्ठले भने, ‘हामीले उमेदवारीलाई निष्क्रिय पारेर दिनेश कोइरालालाई सघाउनको लागि जगन्नाथजीलाई आग्रह गरेका छौँ, आशा छ, उहाँले आफ्नो उमेदवार निष्क्रिय पार्नुहुन्छ ।’

उनले हिजोको ‘भुईँकटहर’ समूह आज पनि उही ठाउँमा रहेको बताए । उनले भने, ‘कांग्रेसलाई बचाउन कोइरालालाई समर्थन गर्न मलगायत केही साथीहरु तयार हुनुभएको छ, यही अनुसार अघि बढ्छौँ । थप कुरा पछि आउँछ ।’

‘भु्इँकटहर’ चुनाव चिन्ह लिएर उठेका भरतपुर महानगरको मेयरमा उठ्दा पौडेलको पूर्वसभापति कृष्णलाल सापकोटा प्रस्तावक र समाजिक अभियन्ता मिना खरेल सर्मथक बसेका थिए । यी दुबै नेताले अब कोइरालालाई सघाउने भएका छन् । भरतपुर महानगरमा भुईंकटहर चुनाव चिह्न पाएका पौडेलले १४ हजार मत ल्याएका थिए ।

भरतपुर महानगरको मेयरमा खर्च विवरण नबुझाएका पौडेलले ७ लाख ५० हजार जरीवाना तिरेर उम्मेदवारी दर्ता गरेका हुन् ।

दिनेश कोइराला को हुन् ?
दिनेश कोइरालाको परिचय २०७४ सालले प्रष्ट बताइदिएको छ । २०७४ सालको चुनावमा भरतपुर महानगरको मेयरमा कांग्रेसले कोइरालालाई उमेदवार बनायो ।

उनले उम्मेदवारी दर्ता गरे, र मत माग्न थालिहाले । तर, मनोनयन दर्ता गरेर भोट माग्न थालेका कोइरालाको उम्मेदवारी ४८ घण्टा पनि टिक्न पाएन । २० वैशाखमै कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच महानगरहरूमा गठबन्धन गर्ने सहमति बन्यो, भरतपुरमा दाहालपुत्री रेनु दाहाल उम्मेदवार बनिन् ।

कोइरालाले गठबन्धनलाई अस्वीकार गर्ने घोषणा गरे, विद्रोह गर्न सकेनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाडौंबाट निर्वाचन अधिकृतको कार्यालयलाई पत्र लेखेर उनको उम्मेदवारी फिर्ता गरिदिए । त्यतिबेलाको अवस्थालाई कोइराला सम्झिन्छन्, ‘त्यो बेला अमुक व्यक्तिलाई जिताउनका लागि मलाई र पार्टीको संगठनलाई बली चढाइएको थियो ।’

नेपाल जेसीजका केन्द्रीय अध्यक्षसमेत भइसकेका कोइराला कांग्रेसको महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । शेखर कोइरालाको प्यानलबाट निर्वाचित भएका कोइरालाले कांग्रेसलाई बचाउनलाई नै चितवन ३ बाट उमेदवारी दिएका बताउँछन् । उनी भन्छन्, ‘म नेपाली कांग्रेस १ छोड्दिन, २ छोडदिन, ३ छोडदिनँ । कांग्रेस भएर नै मर्न चाहन्छु ।’

उनी नेकपा एमालेको साथ र सहयोग आफूलाई हुने उनको भनाइ छ । गठबन्धनका साझा उमेदवारलाई नसघाएर आफैँ उमेदवार बनको भन्दै कोइरालालाई नेपाली कांग्रेसले पाँच वर्षको लागि निलम्बनमा राखेको छ । कोइराला यसअघिको चुनावमा चितवन ३ को ‘ख’ बाट प्रदेश सांसदको लागि टिकट पाएका थिए, तर त्यतिबेला उनी पराजित भए ।

एमालेमा अझै अन्यौल
नेकपा एमालेले चितवन ३ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उमेदवारी बनाएको थियो । तर अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कार्यालयलाई पत्र नै पठाएर उनको उमेदवारी फिर्ता गरिदिए । स्वतन्त्रबाट उठेका दिनेश कोइरालाई सघाउने घोषणासमेत ओलीले गरिदिए ।

दिनेश कोइरालाई सघाउने भन्ने विषयमा अझै अन्यौल नै रहेको एमाले नेताहरु बताउँछन् । हुन त चुनावपछि कोइराला एमालेमा फर्कन्छन् भन्ने हल्ला पनि चल्यो । यसलाई नेता कोइरालाले ठाडै अस्विकार गर्दै भने, ‘म जीवनभर कांग्रेस छोड्दिनँ ।’

एमालेका अध्यक्ष ओली र कोइरालाबीच के सहमति भएको हो भन्ने विषय एमालेका मतदाताहरु जान्न चाहन्छन्, तर यस विषयमा केही कुरा खुलासा भएको छैन । जसका कारण चितवन ३ मा एमालेका मतदाता अझै अन्यौलमै छन् । एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘केन्द्रको नीतिअनुसार उमेदवारी फिर्ता भएको हो, केन्द्रले भनेअनुसार नै अघि बढ्नेछौँ ।

चितवन ३ मा को छ अगाडि ?
चितवन ३ मा राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे चुनावी मैदानमा छन् । सुरुमा एमालेले पाण्डेलाई सघाउने चर्चा थियो, तर एमालेले कोइरालाई सघाउने निर्णय अन्तिमसमयमा आएर गरिदियो ।

हुन त पाण्डे एमाले र कांंग्रेसका उमेदवार नभएको हुनाले आफूलाई चुनाव जित्न सजिलो भएका बताउँछन् । भन्छन्, ‘म २०५६ सालदेखि यही क्षेत्रबाट चुनाव लड्दै आइरहेको छु, अहिले दुई पार्टीका आधिकारिक उमेदवार छैनन् भन्ने सुनेको छु । यसले मलाई चुनाव जित्न सहज भएको छ ।’

सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट डा भोजराज अधिकारीलाई चुनावी मैदानमा ल्याएको छ । डा अधिकारी भन्छन्, ‘जनताले मलाई जिताउँछन् भन्ने पूरा विश्वास छ, जितेमा प्रचण्डको अधुरा सपनाहरु पूरा गर्न लाग्नेछु ।’

२०७४ को प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत परिणामलाई आधार मान्दा चितवन ३ को प्रमुख शक्ति नेपाली कांग्रेस बन्न सफल भयो। समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो शक्ति बन्यो ।

समानुपातिक प्रणालीमार्फत् चितव ३ बाट नेपाली कांग्रेसले २६ हजार १३७, एमालेले २४ हजार १५५, माओवादी केन्द्रले २२ हजार ९८८ र तत्कालीन राप्रपा प्रजातान्त्रिकले ५ हजार ६३३ मत प्राप्त गरेका थिए ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा गठबन्धनका २८ जना वडाध्यक्ष उम्मेदवारले ४५ हजार १७२ भोट पाए । नेकपा एमालेका वडाध्यक्षहरुले ३० हजार ६०९ र राप्रपाका वडाध्यक्षले ७ हजार ४५४ भोट ल्याए। जगन्नाथ पौडेलले क्षेत्र नम्बर ३ मा पर्ने १९ वटा वडाबाट ८ हजार २५३ भोट ल्याएका थिए ।

यस क्षेत्रबाट २० जना उम्मेदवारहरू मैदानमा छन् । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन्। यहाँ १ लाख ४४ हजार २८३ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *