चुनावपछि प्रधानमन्त्री को ? कसको सम्भावना कति ?

काठमाडौँ । मङ्सिर ४ गतेको निर्वाचनपछि नेपालको प्रधानमन्त्री बन्ने अवसर कुन नेताले पाउलान् ? नेपाली राजनीतिमा अहिले यो विषयले खुब चर्चा पाइरहेको छ । यद्यपि, यसको निक्र्यौल भने मङ्सिर ४ गतेले नै गर्नेछ ।

नेकपा एमालेले मङ्सिर ४ को चुनावपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने बताइरहेको छ । एमालेले भावी प्रधानमन्त्रीको रूपमा ओलीको नाम औपचारिक रूपमा घोषणा पनि गरिसकेको छ । मङ्सिर ४ गते हुने चुनावपछि एमालेको बहुमत आयो भने ओली प्रधानमन्त्री बन्ने लगभग पक्का जस्तो भइसकेको छ । तर एमालेलाई बहुमत ल्याउन भने फलाम चिउरा नै भएको छ ।

अध्यक्ष ओलीले सर्वसाधारणसँग टेलिफोनमा अलिक पछि हाम्रो भेट बालुवाटारमा हुने बताएका थिए । एमालेले साना पार्टीहरूलाई साथमा लिएर चुनावपछिको सरकार बनाउन सक्ने पनि देखिएको छ । अहिले एमाले ३ सिटमा राप्रपासँग र तराई मधेसमा जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ । यदि एमाले ठूलो शक्ति बन्यो भने पनि साना दलहरूलाई साथमा लिएर सरकार बनाउन सक्छ ।

यस्तो भएको खण्डमा कांग्रेस, माओवादी केन्द्रलगायत सत्तारुढ गठबन्धन प्रतिपक्षमा बस्नुपर्ने अवस्था आउन पनि सक्छ, तर यस्तो हुने सम्भावना कम छ । चुनावपछि कांग्रेस पहिलो शक्ति बन्यो भने उसले अहिलेको गठबन्धनलाई सरकार बनाउन पनि सक्नेछ । यस्तो भएको खण्डमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पाँचौ पटक प्रधानमन्त्री बन्ने देखिएको छ ।

कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक मञ्चबाटै निर्वाचनपछि यही गठबन्धनको सरकार बन्ने भने पनि प्रधानमन्त्रीको अहिले नै फाइनल गरिसकेका छैनन् । यद्यपि अहिलेकै गठबन्धनले सरकार बनायो भने सम्भवतः प्रचण्ड र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सम्भावना पनि रहेको छ ।

देउवा र दाहालले भनेजस्तो गठबन्धन सरकार बन्ने वा नबन्ने आमनिर्वाचनको परिणामले भन्नेछ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे एमालेले बहुमत ल्याउने दाबी गर्छन् । उनी भन्छन्, ‘एमालेको बहुमत आउँछ, एमालेको सरकार बन्यो भने निश्चितरुपमा अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् ।’

यता गठबन्धनमा निर्वाचनपछि सरकारको नेतृत्व कसले गर्ने भन्नेमा देउवा र दाहालबीच अन्तिम टुंगो लाग्न बाँकी रहेको छ । नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार निर्वाचन सरकारको नेतृत्व देउवाले गरेको हुनाले निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रधानमन्त्रीमा दाबी गर्ने देखिएको छ, तर देउवा र दाहालबीच अहिले नै प्रधानमन्त्रीको लागि सहमति भएको छैन ।

अहिले गठबन्धनका सबै नेताको ध्यान निर्वाचनमा परिणाम कसरी राम्रो ल्याउने भन्नेतिर मात्रै केन्द्रित रहेको हुनाले देउवा र प्रचण्डबीच प्रधानमन्त्रीको लागि खिचडी नपकाइएको नेताहरू दाबी गर्छन् ।

देउवा र प्रचण्डबीच कुनै लिखित सम्झौता नगरे पनि सरकार बनाउने हैसियत हुने गरी जनताले चुनावमा जिताए पनि यी दुई नेताबीच आलोपालो प्रधानमन्त्रीका साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेश सरकारको मुख्यमन्त्री बाँडफाँटसम्मका विषयमा मोटामोटी विश्वास बनेको स्रोतको भनाइ छ ।

अहिलेको सत्तारुढ गठबन्धनको बहुमत हुने गरी जित हासिल भयो भने देउवा र प्रचण्ड आलोपालो सरकार चलाउने विषयमा लगभग सहमतिमा पुगेका छन् । यस्तो अवस्थामा राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत महत्त्वपूर्ण ठाउँमा गठबन्धनका पाँच दलबीच सहमति गरेर अघि बढ्ने पनि सैद्धान्तिक सहमति भएको छ ।

कांग्रेसभित्र प्रधानमन्त्रीको दाबेदार धेरै छन् । अहिलेका प्रधानमन्त्री देउवा, महामन्त्री गगन थापा, शंशाक कोइराला, प्रकाशमान सिंहलगायतले आफूलाई अबको प्रधानमन्त्रीको रूपमा उभ्याइरहेका छन् । जसका कारण कांग्रेसभित्र प्रधानमन्त्रीको आकांक्षी धेरै छन् भने माओवादी केन्द्रभित्र प्रधानमन्त्रीको आकांक्षी प्रचण्डमात्र देखिएका छन् ।

राष्ट्रिय, अन्तर्राष्ट्रिय र पार्टीभित्रको सबै परिस्थिति अनुकूल बनेमा देउवा राष्ट्रपति हुने, पहिलो चरणमा प्रचण्ड प्रधानमन्त्री बन्ने र उनको नेतृत्वमा आरजु उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बन्ने चर्चा पनि अहिले राजनीतिक वृत्तमा छ ।

हुन त देउवालाई ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्छ भनेको हुनाले उनी प्रधानमन्त्री नै बन्न खोजेका छन् । हुन त माओवादीका एक नेताका अनुसार निर्वाचनपछि सरकारको नेतृत्व गर्ने पालो माओवादी केन्द्रको हुनेछ र प्रचण्ड नै तेस्रो पटक प्रधानमन्त्री बन्नेछन् ।

यसरी अहिले प्रधानमन्त्रीको लाइनमा ओली, प्रचण्ड र देउवा नै देखिएका छन् प्रधानमन्त्रीको बाजी कसले मार्ला भन्नको लागि मङ्सिर ४ को चुनावी नतिजासम्म कुर्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *