मकवानपुर २ : गुरुचेलाको भिडन्तमा को अगाडि ?

काठमाडौँ । मंसिर ४ गतेको चुनावमा मकवानपुर २ मा गुरु र चेलाको भिडन्त हुने भएको छ । मकवानपुर २ बाट चार पटकसम्म जित निकालेका एकीकृत समाजवादीका नेता विरोध खतिवडा र उनकै राजनीतिक प्रशिक्षणबाट अघि बढेका महेश बर्तौलाबीच भिडन्त हुन लागेको हो । पहिलो पटक चुनावी मैदानमा आएका वर्तौला कुनै बेला नेकपा एमालेका माहिर राजनीतिक प्रशिक्षकको रुपमा चिनिएका उनै गुरु खतिवडाको प्रशिक्षणमा बस्थे । अहिले उनै गुरु खतिवडासँग ‘फाइट’ गर्न आएका छन् नेकपा एमालेका युवा नेता बर्तौला ।

२०४८ सालदेखि नै मकवानपुर–२ नेकपा एमालेले आफ्नो विरासत बनाइरहेको छ । २०६४ मा एक पटक यस क्षेत्रमा एमाले पराजित भएको थियो, त्यसयता नेकपा एमालेले यस क्षेत्रलाई गढ बनाइरहकेो छ । यही क्षेत्रबाट नेता खतिवडा चार पटक निर्वाचित भएर ह्याट्रिकभन्दा पनि माथि पुगिसकेका छन् । अहिले खतिवडा आफैँले प्रशिक्षण गरेका चेलासँग भिड्न मैदानमा आएका छन् ।

एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य रहेका खतिवडासँग अहिले न नेकपा एमाले छ, न सूर्य चिन्ह । उनी त कलम चिन्ह लिएर एकीकृत समाजवादीबाट मकवानपुर २ मा उमेदवार बनेका छन् । खतिवडा सत्तारुढ गठबन्धनको साझा उमेदवार बनेका छन् ।

एमाले बागमती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौला र खतिवडाको घमासान युद्ध पर्ने देखिएको छ । दुबै उमेदवार चुनावी मैदानमा छन्, दुबैले एकले अर्कालाई पछार्ने दाउमा छन् । राजनीतिमा गुरु सधैँ बलियो र चेला सधैँ कमजोर भन्ने त हुँदैन, तर यी दुई नेताबीचको भिडन्त भने रोचक अत्यन्तै रोचक देखिनेछ ।

मकवानपुर २ को कस्तो छ हिसाबकिताब ?
२०४८ सालयता नेता विरोध खतिवडाले मकवानपुर २ बाट चार पटक जित निकालिसकेका छन् भने एमालेले पाँच पटक जितेको छ । आधिकांश क्षेत्र ग्रामीण पर्ने यस क्षेत्रलाई थाहा आन्दोलनको आरम्भकर्ता रुपचन्द्र विष्टको समयदेखि नै कम्युनिष्टको विरासत मानिएको छ । हुन त खतिवडा र वर्तौला दुबैलाई आफूलाई कम्युनिष्ट नेता मानिरहँदा सो क्षेत्रमा कसको पल्लाभारी होला ? यसको लागि मंसिर ४ सम्म कुर्नु नै पर्ने हुन्छ ।

२०४८ मा भएको निर्वाचन, २०५१ मा भएको मध्यावधि निर्वाचन, २०५६ को निर्वाचनमा र २०७४ को निर्वाचनमा मकवानपुर २ मा नेता खतिवडाले जितेका हुन् । उनी सो क्षेत्रको लागि परिचित नेता हुन् । स्वास्थ्यमन्त्री समेत भइसकेको खतिवडालाई आफ्नो जित निकाल्न त्यति सहज भने छैन ।

उनलाई आफैले बनाएको एमालेको गढ भत्काउन चुनौती छ भने यता एमालेका उमेदवार महेश बर्तौलालाई एमालेको विरासत जोगाइराख्न चुनौती छ । २०७४ को निर्वाचनमा खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याउँदा डिनाले ३२ हजार ६ सय ८१ मत ल्याएकी थिइन् ।

आफ्नै कार्यकर्ताको मतले मात्र खतिवडाले जित्न सक्ने देखिँदैन, उनी सत्ता गठबन्धनका दलहरुको सहायताबाट आफ्नो जित हुने बताइरहेका छन् । गुरुविरुद्ध चुनावी मैदानमा आएका युवा नेता वर्तौला एमालेको जग नभत्केको दावी गरेका छन् । एमालेले आफ्ना विरासत जोगाउने उनको दावी छ । खतिवडा मकवानपुर १ का मतदाता हुन् भने वर्तौला २ का मतदाता । स्थानीय भएको दावी गर्दै वर्तौला आफ्नो जित हुने बताइरहेका छन् ।

मकवानपुर–२ मा हेटौंडा उपमहानगरका ४ वटा वडा १, ३, ११ र १९ पर्छ । मकवानपुरगढी गाउँपालिकाका ४ वटा वडाहरु ५, ६, ७ र ८, पर्छ । यस्तै, मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका पर्छ ।

यसपटकको स्थानीय चुनावमा मकवानपुर–२ मा मनहरी, राक्सिराङ, कैलाश, मकवानपुरगढी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसले जितेको थियो भने एमालेले भीमफेदी र इन्द्रसरोवरमा मात्र जितेको छ । कुल ६२ वडामध्ये गत स्थानीय निर्वाचनबाट १९ वटा एमालेले जितेको छ । ४३ वटा वडामा सत्ता गठबन्धनका उमेदवारले जितेका छन् । ससर्ती विश्लेषण गर्दा गठबन्धन दलका मतदाताहरुको सम्पूर्ण भोट खतिवडाको कलम चिन्हमा खस्यो भने उनको जित हुने सम्भावना छ ।

तर एमालेको भोटसहित अन्य दलको भोट वर्तौलाको चुनाव चिन्ह सूर्यमा खस्यो भने उनको जित हुने सम्भावना देखिएको छ । खतिवडा यसपटक पनि निर्वाचित भए पाँचौं पटक सांसद बन्ने भाग्यमानी सावित हुनेछन् भने बर्तौला निर्वाचित भए पहिलो पटक सांसद बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *