निर्वाचन २०७९

निर्वाचन आयोगले कुनकुन शीर्ष नेतालाई लगायो डण्डा ?

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेपछि उमेदवारहरुलाई धमाधम स्पष्टीकरणको डण्डा चलाइरहेको छ ।

विगतका निर्वाचनको तुलनामा यस पटक निर्वाचन आयोग थप सक्रिय भएको देखिएको छ । जसका कारण कुनै शीर्ष नेता होस्, वा स्वतन्त्र उमेदवार आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले डण्डा चलाउन भने छोडेको छैन ।

उमेदवार दर्ताको दिन शीर्ष नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि नै आयोगले स्पष्टीकरणको डण्डा चलाएको थियो । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको थियो । सामान्य तरिकाले तोकिएको संख्यामा मात्रै मनोनयनपत्र दर्ता गर्न जानुपर्नेमा बाजागाजा र तामझामका साथ प्रचण्डले मनोनयनपत्र दर्ता गराएका थिए । प्रचण्डले निर्वाचन आयोगलाई लिखित जवाफ पठाएर यस विषयमा आफू अनभित्र भएको बताएका थिए । प्रचण्डले आयोगलाई पठाएको लिखित जवाफमा भनिएको छ, ‘कसले बाजा बजाएको हो, बाजा कहाँबाट आएका हो, मलाई थाहा भएन, मेरो निर्देशनमा भएको काम होइन ।’

यस्तै निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिलाई लिएर स्पष्टीकरणको डण्डा चलाएको छ । अध्यक्ष नेपालले रौतहटमा मन्तव्य दिनेक्रममा ‘बिना ढेउवा के, फ्रि भिसा फ्रि टिकट’ दिने भन्दै मतदातालाई प्रलोभनमा पार्ने काम गरेका थिए । नेपालले ‘फ्री भिसा, फ्री टिकट’ युवालाई विदेश पठाउने भनेर आफूले नबोलेको लिखित जवाफ निर्वाचन आयोगमा पठाएका छन् । निर्वाचन आइयोगले सोधेको २४ घण्टे स्पष्टीकरणको लिखित जवाफ दिँदै नेपालले आफू त्यस्तो तल्लोस्तरको अभिव्यक्ति दिने मान्छे नै नभएको बताए । नेपालले रौतहट १ मा भएको सभामा त्यस्तो विवादित अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीसँग लिखित जवाफ मागेको हो । आयोगको डण्डाबाट चोखिनको लागि अध्यक्ष नेपालले आफूले त्यस्तो गलत अभिव्यक्ति नदिएको भनेर लिखित जवाफ पठाए ।

निर्वाचन आयोगले नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्यका गगनकुमार थापालाई पनि स्पष्टीकरणको डण्डा चलाएको छ । थापालाई निर्वाचन आचारसंहिताको विपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित पारेको आयोगको ठहर छ । २४ घण्टाभित्र निर्वाचन आयोगमा स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ । यद्यपी थापाले लिखित जवाफ पठाइसकेका छैनन् । नेता थापाले ‘फेरि पनि काठमाडौँ क्षेत्र नं। ४ का बासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंको टोलमा आउँदैछौँ’, डेंगीको बिरामी भई घरमै बस्नु भएकाका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ भन्ने विव।रण ट्वीट गरेका थियो । यही विषयलाई लिएर निर्वाचन आयोगले नेता थापालाई स्पष्टीकरण सोधेको हो ।

यस्तै, निर्वाचन आयोगले खानेपानी मन्त्रीसमेत रहेका बारा प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार उमाकान्त चौधरीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत निर्वाचन प्रचार प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको भन्दै आयोगले उनलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइसकेको छ । उनले पनि लिखित जवाफ पठाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *