बैंकको ब्याजदर बढेपछि पोखराका व्यवसायी आन्दोलनमा उत्रिने, संघर्ष समिति गठन

पोखरा । ब्याजदर घटाउने मागसहित पोखराका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रने भएका छन् ।

उनीहरुले आइतबार बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । त्यसका लागि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिको संयोजकत्वमा संघर्ष समिति नै गठन भएको छ । आन्दोलनका लागि १ सय १ सदस्यीय संघर्ष समिति गठन भएको महासचिव बलराम आचार्यले जानकारी दिए ।

समितिमा पोखरासहित लेखनाथ उद्योग वाणिज्य संघ, विभिन्न व्यावसायिक संघ-संस्था तथा बस्तुगत संघहरु रहेका छन् । ‘बैठकले बैंकको ब्याजदर घटाउन सशक्त आन्दोलन गर्ने म्याण्डेट दिएको छ’, अध्यक्ष प्रजापति भन्छन्, ‘संघर्षका कार्यक्रमहरु वारपार गर्ने खालका हुन्छन् । हामी तिहारलगत्तै संघर्षमा उत्रन्छौं ।’ उनले आन्दोलनका स्वरुपबारे छिट्टै जानकारी दिने बताए ।

यसअघि संघले अर्थमन्त्री, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसियसनलाई ज्ञापनपत्र मार्फत् ब्याजदर घटाउन आग्रह गरेको थियो । तर सुनुवाई नभएको उनले बताए । बैंकले कुसमयमा बढाएको ब्याजदर,कर्जाको साँवा र ब्याजको लागि पटक–पटक ताकेता गरेको र विभिन्न बहानामा लिइने शुल्कहरु नघटेसम्म आन्दोलन जारी रहने संघले जनाएको छ । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले बैंक तथा वित्तीय संस्थाहरुको दादागिरीले आजित भएर आन्दोलनको कार्यक्रम घोषणा गरिएको बताए ।

‘उद्योगी-व्यवसायीहरुले अर्काको लागि आन्दोलन गरिदिएका छन् । व्यवसाय बन्द गरेर सघाएका छन्’,उनले भने, ‘अहिले आफैमाथि परेको समस्याले हामीलाई सडकमा ल्याउँदैछ । हामी आम नागरिकबाट पनि यो संघर्षमा ऐक्यवद्दताको अपेक्षा गर्दछौँ ।’ यसअघि पश्चिमान्चल होटल संघले पनि आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =