गठबन्धनलाई ओलीको कटाक्ष : परमादेशपछि अदालत सेटिङको अखडा, सत्ताका लागि देश पनि बेच्छन् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सत्ताच्युत गर्न प्रयोग भएको सर्वोच्च अदालत त्यसपछि क्रमशः सेटिङको अखडामा परिणत भएको शनिबार नेकपा एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न घण्टा तोकेर दिइएको परमादेश ऐतिहासिक गल्ती भएको र अब त्यस्तो दोहोरिन नहुने बताए ।

ओली भन्छन्, अदालतले संविधानका नाममा जे मन लाग्यो त्यही फैसला गर्छ । अदालतमा न्यायाधीशहरुले हडताल गरेर तमासा देखाउँछन् ।

प्रधान न्यायाधीशलाई कुर्सीमा बस्न दिइनन । एउटा न्यायाधीशले अर्कोलाई लाञ्छित गर्छ । प्रधान न्यायाधीशलाई घरमा नजबरन्द गरिन्छ । अधिवक्ता र तीनका संस्थाले न्यायालयको हुर्मत लिन्छन् । यो भन्दा तमासा के हुन्छ ?

कानून हातमा लिने काममा न्यायाधीश र वकिलहरू नै लागेको बताउदै ओलीले भने, राज्य शक्तिको आडमा सरकारले प्रधान न्यायाधीशलाई घरमा थुनेर आफन्तलाई घरबाट बाहिर निस्कँदा गिरफ्तार गर्ने काम सम्म गर्यो ।

साथै, अध्यक्ष ओलीले सत्तारूढ गठबन्धन सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको समेतआरोप लगाएका छन् । उनले सत्ताका लागि अंश अंश गरेर देश बेच्न गठबन्धन तयार रहेको समेत बताए ।

ओली थप्छन्, ‘सत्ता स्वार्थका लागि यिनीहरू देशपनि बेच्न तयार हुन्छन् । यिनीहरूको कुरा किन गर्ने ?,’ तिहारका अवसरमा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,‘सिङ्गै देश ढ्वाक्कै लगेर भण्डा, टमाटर सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन् ।’

हिस्सा, अंश, हित र स्वाभिमान अंश अंश बेच्दा एक दिन देश नै बेचिसक्ने अध्यक्ष ओलीले बताए । उनले भने,‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन् । स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन् । सार्वभौमसत्ता बेच्छन् । अंश अंश गरेर बेच्छन् ।’

त्यस्तै, अध्यक्ष ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको दाबी गरे ।

ओलीले लोकतन्त्रलाई परमादेश होइन जनादेशमार्फत बलियो बनाउनुपर्ने साथै, त्यसका लागि मंसिर ४ गते जनताले फैसला गर्नुपर्ने बताउदै आगामी निर्वाचनमा भएरहित वातावरणमा एमालेलाई बहुमत दिन समेत आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *