चुनावी नतिजाबारे शीर्ष नेताहरु : ‘आफैँसँग भर, आफ्नैसँग डर’

काठमाडौँ । निर्वाचन आयोगले आम चुनावको प्रचार प्रसार अवधि सुरु भएको घोषणा गरेको छैन् । बरु मतदान हुने १७ दिन अगावै आमसभा, भेला जस्ता कार्यक्रम नगर्ने राजनीतिक दल र उम्मेदवारहरूलाई भनिरहेको छ । तर, सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धनका नेताहरु देशव्यापी चुनावी प्रचारमा जुटिसके । सत्ता गठबन्धनले शुक्रबार बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गरे ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान, संघीयता, समावेशिता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताए । अर्थात, चुनावपछि अर्को गठबन्धन बन्छ कि भन्ने नेता–कार्यकर्ताको आशंका चिर्ने प्रयास गरे । यही प्रयास चिर्न उनले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताए । ‘धेरै ठूलो लडाइँपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशीता समाप्त पार्ने प्रयास भइरहेको छ’, देउवाले भने, ‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’ टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउँमा अवसर हुने आश्वासन पनि दिए । साथसाथै, गठबन्धनका विषयमा शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन देउवाले बारम्बार आग्रह गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि चुनावपछि गठबन्धन सकिन्छ भन्ने भ्रममा नपर्न सत्तारुढ दलका नेता कार्यकर्तालाई आग्रह गरे । ‘यो गठबन्धन खाली निर्वाचन जित्न बनाइएको होइन । यदि त्यसरी बुझियो र लिइयो भने यो गठबन्धनको ऐतिहासिक आवश्यकतालाई, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा, राष्ट्रको रक्षा, समानुपातिक समावेशीको रक्षाको विषयलाई अवमूल्यन गरेको ठहर्छ’ उनले भने ।

यो चुनावमा सत्तारुढ गठबन्धन विजयी भएर मात्र नपुग्ने भन्दै प्रचण्डले ‘प्रतिगमन’को खतरा रहँदासम्म गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । ‘हामी कसैले के नसोचौं भने चुनाव सकिएपछि गठबन्धन सकिन्छ, अनि मेरो पार्टीलाई जिताउँछु अरु जेसुकै गरुन् भन्ने नसोचौं । त्यसरी सोच्यो भने आत्मघाती हुनेवाला छ’ प्रचण्डले भने, ‘हामी एउटै डुङ्गामा छौं, जिते सबैले जित्ने र हारे सबैले हार्नेवाला छौं ।’ यसअघि सत्ता गठबन्धनका शीर्ष नेताहरुले काठमाडौं र ललितपुरमा पनि यस्तै प्रशिक्षण कार्यक्रम आयोजना गरेका थिए ।

सत्ता गठबन्धन निरन्तर विपक्षीमाथि टिप्पणीमा उत्रिरहेका बेला विपक्षी एमालेको शीर्ष नेतृत्व पनि चुप बसेको छैन् । बरु फरक तरिकाबाट जनतासँग नजिकिएर लचुनावी प्रचार गरिरहेको छ र जनता समाजवादी पार्टी (जसपा), राप्रपा लगायतका दलहरुको साथमा सबैभन्दा ठूलो पार्टी बन्ने र सरकार बनाउने दाबी गरिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४ मंसिरको चुनावमा जनताले गर्ने महाफैसला सही हुनुपर्ने बताउँछन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राजनीतिक कोर्स सच्च्निुपर्नेमा जोड दिए ।

‘अदालत सदालत धेरै बसे । सरकार हटाए । त्यो सबै सच्याउने गरी जनताको महाअदालत ४ गते बस्दैछ । त्यसले महाफैसला गर्नेछ । त्यो महाफैसला सही हुनु पर्दछ । सही फैसला गर्न, गराउन साथीहरु लाग्नुस्’ ओलीले भनेका छन् । उनले आफ्नो नेतृत्वको अघिल्लो सरकारले अरु पार्टीले २० वर्षमा गर्न नसकेको काम ३ वर्षमै गरेर देखाएको दाबी पनि गरे ।

अर्थात, दुबै गठबन्धनका शीर्ष नेताहरुको र स्वमं उम्मेदवारहरुको सार्वजनिक अभिव्यक्तिले उम्मेदवारहरू चुनावी नतिजाका लागि गठबन्धनकै डर र गठबन्धनकै भरमा रहेको देखाउँछ । सत्ता गठबन्धन्धनमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु छन् । एमाले नेतृत्वको विपक्षी गठबन्धनमा जसपा, राप्रपा, राप्रपा नेपाल लगायतका दलहरु छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =