चितवन २ : सामाजिक सञ्जालदेखि टिकटकसम्म रविको ‘क्रेज’

चितवन । एउटा उखान छ, जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि । तर यहाँ रवि (घाम) र कविको कुरो गर्न खोजिएको होइन । यहाँ त चितवन २ का उम्मेदवार रवि लामिछानेको कुरा गर्न खोजिएको हो । यति बेला चितवन २ मा जहाँ पुग्छन् रवि, त्यहाँ घण्टी नै घण्टी देखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने चितवन २ मा घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा आएका छन् । रवि लामिछानेको क्रेज चितवन २ तातेको छ, उनी जहाँ पुगे पनि मानिसहरू घण्टी बजाउँदै उनी सामु आइरहेका छन् । सेल्फी खिचाइरहेका छन् । घण्टी बजाइरहेका छन् । सामाजिक सञ्जालहरूमा रवि लामिछानेको क्रेज बाक्लो देखिन्छ ।

घरदैलोमा पुगेको लामिछानेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । एउटा भिडियोमा दर्जनौँ कमेन्टहरू आइरहेको पाइन्छ । रवि लामिछानेको घरदैलोले टिकटकका भित्ताहरू पनि रंगिएका छन् ।

‘रवि लामिछानेको क्रेज चितवन २ मा राम्रो देखिएको छ, रवि जहाँ पुग्छन्, त्यहाँ मानिसहरू जम्मा भइहाल्छन्, घण्टी बजाइहाल्छन् । उनको क्रेजले चितवनको राजनीतिमा तरङ्ग ल्याइरहेको छ’ चितवन २ का एक मतदाताले भने ।

चितवनमा ९ सांसद पदको लागि १२२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यो बिचमा चितवन १ का कांग्रेसका बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीलगायत केही उम्मेदवार निष्क्रिय भएका छन् । उम्मेदवार मध्ये अहिले मतदाताबिचमा देखिएको क्रेज रविको बढी छ । हुन त रविको अहिले देखिएको क्रेजले घण्टीमा ग्यारेन्टी भोट आउँछ भन्ने त होइन, जे होस् उनी जहाँ पुगे पनि फोटो खिच्न आउने मानिसहरूको ताँती भने राम्रै देखिएको छ । उनीसँग बसेर सेल्फी लिन आउनेहरू राम्रै देखिएका छन् । सञ्चार जगत्बाट राजनीतिमा आएका लामिछानेको चितवनमा भएको इन्ट्रीले यति बेला चितवनको चुनावी गतिविधिमा तरङ्ग नै सिर्जना गरेको छ ।

चितवन क्षेत्र नम्बर २ मा तराईदेखि पहाडसम्मका मतदाता छन् । यसमा एउटा गाउँपालिका र एउटा नगरपालिका सिङ्गो पर्छ । कालिका नगरपालिकाका ११ वटा वडा, इच्छाकामना गाउँपालिकाका सातवटा वडा र भरतपुर महानगरपालिकाका १० वटा वडा चितवन–२ मा पर्छ । मंसिर ४ गते हुने सङ्घीय चुनावमा भौगोलिक विविधताले भरिएको यस क्षेत्रमा पूर्वसञ्चारकर्मी रवि लामिछानेले एमाले र गठबन्धनको उम्मेदवारलाई टक्कर दिन सक्लान्, अथवा उनीहरू दुवैलाई उछिनेर जित निकाल्न सक्लान् ? चितवन–२ मा एमालेले आफ्नो यसअघिको विरासत जोगाउन सक्ला कि सत्तारुढ गठबन्धनका उम्मेदवारले बाजी मार्लान् ? यस्तै चर्चामा यति बेला चितवन–२ को राजनीति घुमिरहेको छ ।

यो क्षेत्रबाट यसअघि निर्वाचित भएका नेकपा एमालेका कृष्णभक्त पोखरेल, नेपाली कांग्रेसका हालका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वसञ्चारकर्मी रवि लामिछानेलगायत चुनावी मैदानमा छन् । एमालेका पोखरेल यसअघिको विरासत फर्काउने दाउमा छन् भने श्रेष्ठलाई पहिलो पटक चितवन २ बाट प्रत्यक्षमा जित्नु छ ।

यस क्षेत्रमा २०७४ सालको सङ्घीय चुनावमा यस क्षेत्रमा नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल विजयी भएका हुन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका पोखरेलले कांग्रेसका उम्मेदवार त्यति बेलाका शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई हराएका हुन् । पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरेका थिए ।

रविको अहिले देखिएको क्रेजले धेरै उम्मेदवारलाई धक्का दिन पनि सक्छ, तर उनको अहिले देखिएको क्रेजले भोट आउँछ भन्ने पनि छैन । नेता लामिछाने भन्छन्, ‘काठमाडौँले देखायो, धरानले देखायो धनगढीले देखायो र अब चितवनले पनि देखाउँछ मंसिर ४ गते ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *