गठबन्धनभित्र खटपटकै बीच ह्याट्रिक गर्ने दाउमा विशाल भट्टराई

काठमाडौँ । सुरुका दुई निर्वाचनमा पराजित भएका एमाले नेता विशाल भट्टराई त्यसपछि भने लगातार निर्वाचित हुँदै आएका छन् । खोटाङबाट पाँचौँ पटक उम्मेदवार बन्दा भट्टराई ह्याट्रिक गर्ने दाउमा छन् ।
२०५६ सालको निर्वाचनदेखि उनी उम्मेदवार बन्दै आएका छन् । पहिले दुई वटा निर्वाचन क्षेत्र रहेको खोटाङमा अहिले प्रतिनिधि सभामा एउटै निर्वाचन क्षेत्र छ । एउटै क्षेत्र भएपछि पनि उनी २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । त्यति बेला बाम गठबन्धनको बलमा सहजै चुनाव जितेका भट्टराईलाई अहिले एक्लै जित्न भने निक्कै चुनौती छ ।
जिल्लामा १० वटा स्थानीय तह रहेको खोटाङमा एमालेले दुई वटामा मात्रै प्रमुख जितेको थियो । सत्ता गठबन्धनबाट माओवादी उठेको ऐसेलुखर्कमा र गठबन्धन नभएको दिप्रुङमा एमाले विजयी भएको थियो । ६ वटा स्थानीय तहमा नेपाली कांग्रेस निर्वाचित भए पनि प्रतिनिधि सभामा कांग्रेसका उम्मेदवार नभएकाले भट्टराईलाई केही सहज छ ।
काङ्ग्रेसभित्रकै मत तान्न सके आफू निर्वाचित हुने जिल्लामा एमालेको आकलन छ । सत्ता गठबन्धनबाट माओवादीका रामकुमार राई पासाङ भट्टराईका प्रतिस्पर्धी छन् । यसअघि बाम गठबन्धनबाट एउटै टिममा हुँदा भट्टराई प्रतिनिधि सभामा र राई प्रदेश सभा ख मा निर्वाचित भएका थिए ।
२०६४ सालमा राम कुमार राई निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका थिए । त्यति बेला भट्टराई क्षेत्र नं २ मा पराजित भए । त्यस बेला दुवै क्षेत्र माओवादीले जितेको थियो । तर २०७० मा दलहरूबिच कुनै गठबन्धन नहुँदा एमालेले दुवै क्षेत्रमा विजयी हासिल गरेको थियो ।
त्यतिबेला निर्वाचन नेत्र नं १ बाट विजयी पाँच कर्ण राई अहिले प्रदेश क बाट उम्मेदवार बनेका छन् । प्रदेश ख मा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद दंगाल उम्मेदवार छन् ।
गठबन्धनभित्र निक्कै खटपट हुँदा जिल्लामा एमाले एकमत छ । खास गरी गठबन्धनभित्र कांग्रेसले नेकपा एकीकृत समाजवादीका उम्मेदवार वीरबलकाजी राईलाई मतदान नगर्ने संस्थागत निर्णय नै गरेको छ । उनी उठेको प्रदेशमा कांग्रेस जिल्ला कार्यसमितिले निर्णय गरेरै धर्मराज पोखरेललाई उठाएको छ ।
गठबन्धनभित्रको खटपट र विद्रोहको फाइदा लिँदै ह्याट्रिक गर्ने सोचमा भट्टराई छन् । गठबन्धनभित्र मत धेरै भए पनि त्यो सबै मत माओवादी उम्मेदवारले नपाउने र समाजवादीको भोट पनि आफूले तान्न सक्ने आकलन एमालेको छ ।
यसअघि २०७४ को निर्वाचनमा भट्टराईले कांग्रेस केन्द्रीय सदस्य सरस्वती वजिमयलाई फराकिलो मतान्तरमा पराजित गरेका थिए । २०७० सालको निर्वाचनमा पनि कांग्रेस उम्मेदवारले दोस्रो मत पाएका थिए । माओवादी जिल्लामा दुई ठुला पार्टीभन्दा कमजोर छ । सत्ता गठबन्धनबाट खोटाङमा कांग्रेसले प्रदेश ख मा भूपेन्द्र राईलाई उम्मेदवार बनाएको छ ।










