चुनावपछि कस्तो सरकार ?

काठमाडौँ । राजनीतिक दलहरू आम चुनावको प्रचार प्रसारमा छन् । सत्तारुढ पाँच दलीय सत्ता गठबन्धन देशव्यापी संयुक्त भेलामा छ भने प्रमुख विपक्षी नेकपा एमाले नेतृत्वको गठबन्धन पनि चुनावी दौडाहा छ । दुवै गठबन्धनले आफूहरूले बहुमत ल्याउने दाबी गरिरहेका छन् । दलहरूले एक्लै बहुमत ल्याउने दाबी कम र चुनावपछि गठबन्धनको सरकार बन्छ भनेर गठबन्धनको बहुमत आउने दाबी बढ्ता गरिरहेका छन् । जनता र कार्यकर्ताको मन जित्न चुनावी गठबन्धन नतोडेरै सरकार बनाउने पनि उनीहरूको प्रतिबद्धता छ ।
हाल सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिबद्धता सार्वजनिक नै गरेका छन् । सत्ता गठबन्धनमा रहेर देशभर सिट बाँडफाँड गरेर साझा उम्मेदवार खडा गरेका दलहरूले चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिबद्धता सार्वजनिक गरेर गठबन्धन नतोड्ने बाचा गर्नुको कारण हो– भोट ट्रान्सफर । एउटा दलका कार्यकर्ताले अर्को दलका उम्मेदवारलाई भोट हाल्न अप्ठ्यारो नमानून्, चुनाव पछि पनि यही गठबन्धन सरकार हो भोट दिऊँ भन्ने परोस् भन्नका निम्ति समेत गठबन्धनलाई यस्तो बाचा गर्नुपरेको हो ।
सत्ता गठबन्धनको तर्फबाट सार्वजनिक साझा प्रतिविद्धतामा कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मात्र हस्ताक्षर गरेका छन् । तर, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले हस्ताक्षर गरेका छैनन् । संविधानको मर्म विपरीत गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुख (केपी शर्मा ओली)को स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु गठबन्धनको उद्देश्य भएको नेताहरूले बताएका छन् ।
उनीहरूले आसन्न आम निर्वाचनलाई भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्ताबेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको भन्दै उनीहरूले संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताएका छन् ।
आगामी निर्वाचनपछि बन्ने सरकारले जनताको समृद्धिको आकांक्षालाई बिना आलटाल सम्बोधन गर्ने भन्दै शीर्ष नेताहरूले गठबन्धनको प्राथमिकता प्रष्ट पारेका छन् । कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवम् बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्यूनीकरण गर्न आयात प्रतिस्थापन एवम् निर्यात प्रवर्द्धन र जलविद्युतजस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको भन्दै साझा प्रतिबद्धता पत्रमा भनिएको छ, ‘यसका लागि पर्याप्त निजी, सहकारी एवम् सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ ।’
यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकता हुने उनीहरूले बताएका छन् । नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्ने भन्दै प्रतिबद्धता पत्रमा भनिएको छ, ‘द्विपक्षीय र बहुपक्षीय सन्धि सम्झौतालाई नेपालको राष्ट्रिय स्वार्थ अनुरूप गर्न गठबन्धन सरकार प्रयत्नशील रहने छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भन्छन्, ‘यो सामान्य खालको चुनाव होइन, यो एउटा पार्टीले जित्ने र हार्ने भन्ने मात्रै छैन । यहाँ परिवर्तन र जनताले जित्ने कि प्रतिगमन र जनविरोधीले जित्ने भन्ने प्रष्ट रुपमा दुई वटा गठबन्धन छ । परिवर्तन र जनताले जित्छ र चुनावपछि पनि यही गठबन्धनले सरकार बनाउँछ । अर्थात, सत्तारुढ गठबन्धनबाट चुनावमा होमिँदै गरेका शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड दुवैले प्रधानमन्त्रीको दाबे दारी प्रस्तुत गरेका छन् ।देउवा ५ पटक प्रधानमन्त्री बनिसके । प्रचण्ड पनि प्रधानमन्त्री बन्ने दौडकै लागि चितवन आफ्ना लागि सुरक्षित नदेखेर गोरखा उक्लिए । गोरखामा आफू नजित्ने देखेका बाबुराम भट्टराईले समेत प्रचण्डलाई साथ दिए । २ पटक प्रधानमन्त्री बनिसकेका दाहाल दुवै पटक आफ्नै कारण सत्ता च्युत भए । सधैँ सत्ताको निर्णायक बन्ने अभिलाषाले उनलाई कहिल्यै छोडेन । चुनाव जित्नैका लागि गठबन्धन गरेका दुई पार्टीका यी नेताको ‘प्रधानमन्त्री सपना’मा गठबन्धनभित्र छलफल चलिरहेकै छ ।
यस्तै, दाबी एमाले नेतृत्वको गठबन्धनको पनि छ । एमालेको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) राप्रपा, राप्रपा नेपाल, एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दल (एमालेमा समाहित) लगायतका साना दलहरू छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेसँगको तालमेलले मधेस प्रदेशलाई फाइदा भएको बताउँछन् ।
‘एमालेसँगको तालमेलले कांग्रेस र माओवादी केन्द्रको धोका, जालझेल, षड्यन्त्र आदि प्रपञ्चलाई असफल तुल्याएको छ । मधेसको शक्ति बलियो भएको छ । हामी मधेसमा सरकार बनाउन सक्ने स्थितिमा पुगेका छौँ,’ जसपाका अध्यक्ष उपेन्द्र यादव भन्छन्, ‘एमाले–जसपा गठबन्धनले संघमा पनि बहुमत ल्याउँछ र सरकार बनाउँछ ।’ अर्थात्, यादवले ओलीलाई प्रधानमन्त्री स्वीकार गरेका छन् । ओली एमालेबाट पनि प्रधानमन्त्रीका एक मात्र दाबेदार हुन् । ओली, देउवा र प्रचण्डबाहेक माधवकुमार नेपाल र झालनाथ खनालले आश गरे पनि दाबी गर्ने हिम्मत गर्ने छैनन् । किनभने सरकारमा दाबी गर्ने सिट पार्टीले पाउँदैन भन्नेमा उनीहरू ढुक्क छन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *