चितवन –१ : ‘हेभिवेट’ पाण्डे भर्सेज ‘डेब्यु’ पौडेल

चितवन । चितवन क्षेत्र नं १ मा नेकपा एमालेबाट हेभिवेट उम्मेदवार सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन् । नेकपा एमालेको उपाध्यक्षसमेत रहेका पाण्डे अर्थमन्त्रीसमेत भइसकेका नेता हुन् ।

उनीसँग यसपटकबाट उम्मेदवारमा डेब्यु गरेका नेता विश्व पौडेल भिड्दैछन् । नेपाली कांग्रेसबाट बागी उम्मेदवार दिएका राजेन्द्र बुर्लाकोटी निष्क्रिय भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले बुर्लाकोटीलाई राष्ट्रिय सभामा तान्ने आश्वासन दिएपछि उनले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका हुन् । बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय पारेसँगै चितवन १ का गठबन्धनका उम्मेदवार पौडेलले केही राहत महसुस गरेका छन् ।

हुन त, नेकपा एमालेले आफ्नो विरासत मान्दै आएको यस क्षेत्रमा लगातार नेकपा एमालेले जित्दै आएको छ । २०४८ साल यता २०५६ सालमा एकपटक यस क्षेत्रमा नेपाली कांग्रेसले जितेको थियो, त्यसपछि लगातार नेकपा एमालेका उम्मेदवारले नै विजयी हासिल गरिरहेका छन् ।

२०६४ सालमा संविधान सभाको पहिलो निर्वाचनमा देशभर नै तत्कालीन माओवादीले भारी ठाउँमा जित्दा यो क्षेत्रमा एमालेका उम्मेदवार लालमणि चौधरीले बाजी मारेका थिए । २०५६ सालको चुनावमा नेपाली कांग्रेसकी उम्मेदवार सावित्री बोगटीले यो क्षेत्रमा जित निकालेकी थिइन् । २०५६ सालपछि यो क्षेत्रमा एमालेले कसैलाई नै चितवन १ मा चियाउनसमेत दिएको छैन । एमालेका नेताहरू यो क्षेत्र जागृतप्रसाद भेटवालले नै बनाएको बताउँदै आएका छन् ।

उनको पालादेखि नै यस क्षेत्रलाई एमालेले आफ्नो किल्ला बनाएको कांग्रेसका नेताहरू स्वीकार्छन् । तर, कांग्रेसले यसपटक खोलो फर्कने दाबी गरेको छ । कांग्रेसका नेताहरू चितवन १ मा गठबन्धनका साझा उम्मेदवार नै विजयी हुने दाबी गर्छन् । हुन त, चितवन–१ मा नेकपा एमालेबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे नै दुई पटक निर्वाचित भइसकेका नेता हुन् ।

२०७० र २०७४ मा पाण्डे यस क्षेत्रबाट निर्वाचित भएका हेभिवेट नेता हुन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डेलाई यसपटक नेकपा एमालेका नेताहरू पाण्डेको जित सुनिश्चित भएको बताउँछन् । एमालेका नेताहरू हेभिवेट उम्मेदवार पाण्डेले आफ्नो विरासत जोगाउने दाबी गर्छन् । एमालेका एक नेताका अनुसार चितवन १ मा पाण्डे भारी मतले विजयी हुन्छन् । एमालेका पाण्डे र कांग्रेसका पौडेलमा जसले चुनाव जिते पनि भोलि सरकार गठनमा अर्थमन्त्रीका दाबेदार हुन् ।

यस क्षेत्रमा २०७० र २०७४ सालको संघीय चुनावमा पाण्डे निर्वाचित भइसकेका नेता हुन् । पाण्डे माधव नेपाल प्रधानमन्त्री हुँदा ०६६ सालमा १९ महिना अर्थमन्त्री भएर कामसमेत गरिसकेका नेता हुन् । यस क्षेत्रका जनतामाझ पाण्डे चिरपरिचित छन् । २०७४ सालमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले ५१ हजार ८० मत ल्याएका थिए । त्यति बेला उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । २०७४ सालमा भारी मतले विजयी भएका पाण्डे अहिले एमालेको जनमत झन् बढेको बताउँछन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेल युवा उमेरका छन् । राष्ट्रनिर्माणको भिजन बनाउन सक्ने ल्याकत पौडेलले राख्न सक्छन् । उनलाई सत्तारुढ गठबन्धनको साथ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *