गणतन्त्र ल्याउनु र गोरुगाडा चढेर अमेरिका जानु उस्तै भन्नेहरुसँग जोगिनु पर्छ : प्रचण्ड

काठमाडौँ । सत्ता गठबन्धनअन्तर्गत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्रको पक्षधर, अग्रगामीहरुको गठबन्धन र गणतन्त्र विरोधी, प्रतिगमनकारीहरुको गठबन्धन चुनावी मैदानमा रहेको बताएका छन् ।
सत्ता गठबन्धन दलको निर्वाचन परिचालन अभियानअन्तर्गत ललितपुरमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । आफूहरुको गठबन्धन गणतन्त्रको रक्षा, संविधानको रक्षा, अग्रगमन र देशको रक्षाका लागि भएको उनले बताए । तर, अर्को (केपी शर्मा ओली)को गठबन्धन संविधान विरोधी, संसद विरोधी, गणतन्त्र विरोधी, प्रतिगमनकारी, विखण्डनकारीहरुको गणबन्धन भएको उनले आरोप लगाए ।
‘अहिले आसन्न निर्वाचनमा दुई गठबन्धनको मुख्य प्रतिस्पर्धा देखिएको छ,’ उनले भने, ‘दुई वटा विचार र प्रवृत्तिका दुई गठबन्धन मध्ये सही प्रवृत्ति र विचारको गठबन्धनलाई अघि लानु पर्ने आवश्यकता छ ।’
आफूहरुको गठबन्धनमा भएका दलहरु मध्ये विगतदेखि नै कसैले भूमिगत रुपमा र कसैले सडकबाट आन्दोलन गर्दै आएको आएकाले अहिले पनि एकै ठाउँमा भाएको उनले बताए ।
तर त्यसताका गणतन्त्रविरुद्ध रहेकाहरुको अहिले अर्को गठबन्धन बनेको उनले आरोप लगाए ।
‘अहिले नेपालमा गणतन्त्र ल्याउनु र गोरुगाडा चढेर अमेरिका जानु उस्तै हो भन्नेहरुको पनि गठबन्धन छ,’ विभागमा केपी ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने, ‘विगतमा आफूहरुले गणतन्त्रको विरुद्ध लागेहरुसमेत सच्चिएर गणतन्त्रको बाटोमा आए भन्ने ठानेर सहकार्य सुरु गरेको भए पनि अहिले उनीहरु नसच्चिएको देखिएको छ ।’










