चुनावमा मात्रै झुल्किने ‘पाहुना’ नेतालाई भोट नदिनू : विक्रम पाण्डे 

चितवन । पूर्वमन्त्री एवम् राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले चुनावमा मात्रै झुल्किने ‘पाहुना’ नेतालाई भोट नदिन आग्रह गरेका छन् ।

चितवन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका पाण्डेले राजनीति वा विकास र समृद्धि रोज्ने बेला आएको बताए । भरतपुर–१५ फूलबारीमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघले गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले फोस्रा चुनावी नारा भन्दा विश्वासिलो व्यक्तिलाई चुन्न आग्रह गरे ।
 ‘राजनीति चाहिने भए राजनीतिक खेलाडीलाई भोट दिए हुन्छ’, उनले भने, ‘विकास, समृद्धि, राष्ट्रवादी सोच भएको चाहिएमा राप्रपालाई भोट दिनुस् ।’ उनले यसपालीको चुनावलाई विगतका ४ वटा निर्वाचनको समीक्षा गर्दै सही नेतृत्व छनौट गर्न आग्रह गरे ।
 ‘आफ्नो मान्छे, आफ्नो पार्टी भनेर भोट नदिनुस्’, उनले भने, ‘चुनावमा मात्रै झुल्किने नेता होइन, हार्दा–जित्दा सधैँ सँगै हुनेलाई सांसद बनाउनुस् ।’ उनले यसपालीको निर्वाचन संवेदनशील रहेकाले राष्ट्रलाई विदेशीको कब्जाबाट जोगाउन राष्ट्रवादी उम्मेदवारहरूलाई जिताउनुपर्ने बताए ।
‘जनताको मन जित्ने काम गर्नेहरू लुकेर घेराउमा हिँड्नै पर्दैन’, उनले भने, ‘चुनाव जितेपछि भागिहाल्ने, हारे पछि पनि कहिल्यै नआउनेहरूलाई नरोजौँ ।’ पाण्डे २०५६ सालदेखि लगातार चितवनबाट एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै आएका छन् । यसपालि ५ औँ पटक उनी उम्मेदवार बन्दैछन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =