चितवन १ : पाण्डेलाई एमालेको विरासत जोगाउन र पौडेललाई भत्काउन चुनौती

चितवन । चितवन क्षेत्र नं १ लाई नेकपा एमालेले आफ्नो विरासत मान्दै आएको छ । हुन पनि २०४८ साल यता एक पटक मात्रै यो क्षेत्रमा नेपाली कांग्रेसले जितेको छ, २०५६ सालको चुनावमा नेपाली कांग्रेसकी उम्मेदवार सावित्री बोगटीले यो क्षेत्रमा जित निकालेकी थिइन् । अघिपछिका संसदीय चुनावमा चितवन १ मा नेकपा एमाले नै विजयी हुँदै आएको छ ।

एमालेका नेता जागृतप्रसाद भेटवालको पालादेखि नै यस क्षेत्रलाई एमालेले आफ्नो किल्लाका रुपमा दाबी गर्दै आएको छ । चितवन–१ मा नेकपा एमालेबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे नै दुई पटक निर्वाचित भइसके । २०७० र २०७४ मा पाण्डे यस क्षेत्रबाट निर्वाचित भएका हेभिवेट नेता हुन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डेलाई यसपटक नेकपा एमालेको विरासत जोगाउन भने धेरै नै चुनौती देखिएको छ । रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको चितवन–१ मा नेकपा एमालेबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग भिड्न गठबन्धनबाट भिड्न अर्थविद् विश्व पौडेल आएका छन् ।

एमालेका पाण्डे र कांग्रेसका पौडेलमा जसले चुनाव जिते पनि भोलि सरकार गठनमा अर्थमन्त्रीका दाबेदार हुन् । एमालेका उपाध्यक्ष पाण्डेसँग राष्ट्रिय योजना आयोगका विश्वनाथ पौडेलबीच रोचक भिडन्त हुने अवस्था देखिएको छ । हुन त, नेपाली कांग्रेसबाट बागी उम्मेदवारी हालेका राजेन्द्र बुर्लाकोटी यस क्षेत्रमा लड्नका लागि खडा भएका छन् । यस क्षेत्रमा २०७० र २०७४ सालको संघीय चुनावमा पाण्डे निर्वाचित भइसकेका नेता हुन् । पाण्डे माधव नेपाल प्रधानमन्त्री हुँदा ०६६ सालमा १९ महिना अर्थमन्त्री भएर कामसमेत गरिसकेका नेता हुन् । यस क्षेत्रका जनतामाझ पाण्डे चिरपरिचित छन् । २०७४ सालमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले ५१ हजार ८० मत ल्याएका थिए । त्यति बेला उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए । २०७४ सालमा भारी मतले विजयी भएका पाण्डे अहिले एमालेको जनमत झन् बढेको बताउँछन् ।

उनी भन्छन्, ‘चितवन–१ मा मात्र होइन, देशभर नै एमालेको जनमत बढेको छ । स्थानीय तहको चुनावको परिणामले नै यसलाई पुष्टि गरिसकेको छ ।’ उनले आफू पनि अर्थविद् भएको दाबी गरे । उनले भने, ‘म अर्थविद् नभई अर्थमन्त्री भएँ होला र रु’ उनले चितवन–१ का हरेक विकास निर्माणमा आफू जोडिएको बताउँदै आफू निर्वाचित हुनेमा कुनै शङ्का नै नरहेको दाबी गरे । उनले आफू अर्थमन्त्री हुँदा चितवन–१ मा ठुलो बजेट पारेको र पछिल्लो पाँच वर्ष सांसद हुँदा पनि यहाँको विकास निर्माणमा बजेट पार्न सफल भएको दाबी गरे । पाण्डेलाई अर्का अर्थविद् पौडेलको चुनौती छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका पौडेल युवा उमेरका छन् । राष्ट्रनिर्माणको भिजन बनाउन सक्ने ल्याकत पौडेलले राख्न सक्छन् । उनलाई सत्तारुढ गठबन्धनको साथ रहेको छ ।

एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसको ठुलो मत पौडेलले पाउने देखिन्छ । एमालेका उपाध्यक्ष पाण्डेले एमालेको मतमात्रै खाँदा पौडेल पाण्डेका लागि ठुलो चुनौती बन्न सक्ने पनि देखिएको छ । पौडेल युवानेता भएका कारण युवापुस्तामा जुन नयाँ मतदाता छन्, त्यस्ता भोट पौडेलले तान्न सक्ने पनि देखिन्छ । नेपाली कांग्रेसले एमालेको विरासत अहिलेको स्थानीय तहको चुनावले तोडेको दाबी गरेको छ । अहिलेको स्थानीय तहको चुनावमा रत्ननगर, खैरहनी र राप्ती तीनवटा पालिका प्रमुखमा एमालेले जित्न सकेन ।

नेपाली कांग्रेसका चितवन क्षेत्र नं १ का सभापति किरणभूषण ओली एमालेले भन्दै आएको विरासत भत्किने दाबी गर्दै भने, ‘२०५६ सालमा यस क्षेत्रमा सावित्री बोगटीले जित्नुभएको हो, यसलाई कांग्रेसले फेरि अहिले फर्काउँछ ।’ एमालेको जनमत टुक्रिएर क्षयीकरण भएको उनले दाबी गरे । क्षेत्र १ ‘क’ बाट उम् वारसमेत रहेका ओलीले गठबन्धनबाट कांग्रेसका युवानेता पौडेल चुनावी मैदानमा रहेका र अरू कुनै उम्मेदवार नभएको बताए । यस क्षेत्रमा अहिले कांग्रेसका बागी उम्मेदवार बनेका राजेन्द्र बुर्लाकोटी यसअघि दुईपटक यस क्षेत्रमा उठेका थिए । बुर्लाकोटीलाई दुईपटक नै नेता पाण्डेले पराजित गरेका थिए । अहिले पनि बुर्लाकोटी आफूले जित्ने दाबी गर्छन् । हुन त, बागी उम्मेदवारी फिर्ता नगरेको भन्दै बुर्लाकोटीलाई कांग्रेसले पाँच वर्षका लागि निलम्बनमा राखेको छ । यस क्षेत्रमा पर्ने तीन पालिकामा अहिलेको स्थानीय तहको चुनावमा एमालेले पाँच दलसँग घुँडा टेकेको छ ।

तीनवटा पालिकाका प्रमुखमा पाँच दलीय गठबन्धन विजयी भयो । रत्ननगर र खैरहनीमा कांग्रेसको नेतृत्व आयो भने राप्तीमा एकीकृत समाजवादीको नेतृत्व आयो । चितवन क्षेत्र नं १ मा ४२ वटा वडा पर्छन् । २० वटा वडाको अध्यक्षमा एमालेले जितेको छ । कांग्रेसले १८, माओवादी केन्द्रले एक, एकीकृत समाजवादीले एक र स्वतन्त्रले दुई वडाका अध्यक्ष जितेका छन् । वडा बढी नेकपा एमालेले जितेको छ । यस क्षेत्रमा एमालेका वडाध्यक्षहरूले पाएको मत जोड्दा ३९ हजार ६०६ पुग्छ । कांग्रेसका वडाध्यक्षहरूले पाएको मत जोड्दा ३६ हजार ७८३ पुग्छ । माओवादी केन्द्रले पाएको मत जोड्दा ५ हजार ५०८ पुग्छ । राप्रपाले पाएको मत जोड्दा ४ हजार ५९० पुग्छ । एकीकृत समाजवादीले पाएको मत जोड्दा ४ हजार ५ मत पुग्छ । पाँच दलीय गठबन्धन एकढिक्का भएर भोट खसेमा एमालेका उम्मेदवार पाण्डेलाई भारी पर्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *