दीपकप्रति खगराजको टिप्पणी :‘उहाँ विरुद्ध सिडियो कार्यालयमा मुद्दा छ, उम्मेदवार बन्न पनि योग्य हुनुहुन्न’

पोखरा । कास्की १ (क) का उम्मेद्वार तथा पुर्व गृहमन्त्री खगराज अधिकारीले आफ्नो प्रतिश्पर्धी उम्मेद्वारका लागि पनि योग्य नभएको टिप्पणी गरेका छन् । गठबन्धनबाट उम्मेद्वार बनेका दीपक कोइरालाको मुद्धा हात हतियार तथा खरखजना अन्तर्गत रहेको भन्दै उम्मेद्वार बन्न नै अयोग्य रहेको अधिकारीको तर्फ छ ।
‘मैले साथ दिएर उसले जित्यो भन्नुभएको छ साथीले । ०५१ सालमा पनि उहाँ यतै हुनुहुन्थ्यो कि जनयुद्ध भन्ने नाम गर्दै हुनुहुन्थ्यो कि, हात हतियार खरखजनामा उहाँ मुद्धामा परेको सिडियो कार्यालयमा हेर्नुहोला,’ उनले भने, ‘उहाँ त उम्मेद्वारीका लागि पनि योग्य हो कि होइन भनेर खोज्नुपर्ने अवस्था छ । म त्यता पनि जान चाहान्नँ । सिडियो कार्यालयमा गएर हेर्नुहोला ।’
उनले कोइरालाको आयू मंसिर ४ गतेसम्म मात्रै भएको बताए । ‘रुपातालमाथीको पुल मैले शिलान्यास गरें, लुकेर गएर एकजना साथीले उद्घाटन गर्नुभयो । मलाई झोलुंगे पुल विरोधी थियो भनेर भन्नुभएछ,’ अघि भन्छन्, ‘यस्ता हावादारी कुरा गरेर यहाँका जनतालाई केही पनि होइन भनेर जसले गीर खेल्न खोज्दै छ, उहाँको आयू मंसिर ४ गतेसम्म मात्रै हो, त्यसपछि सकियो ।’
उनले आफु कामका लागि निर्वाचनमा होमिएको बताए । ‘वडाको काम पनि मलाई भन्नुहुन्छ । महानगरको काम पनि मलाई भन्नुहुन्छ । मलाई त काम चाहियो । तालको मापदण्ड बनाएर सौन्दर्यीकरणको काम गरेको छु,’ अधिकारीले भने, ‘पहिले सिडियोहरुले रुपाताल परियोजनाको जग्गा २ लाखमा दिनुपर्छ भने । मैले भनें, सार्वजनिक रुपमा । ५० लाखसम्म पर्छ जग्गाको भनें । अनि १४ लाख पुग्यो । नबोलेको भए २ लाखमै लिनुहुन्थ्यो । मैले राम्रो काम गरेको छु ।’ आफ्नो क्षेत्रको चुनावी कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २ वर्षभित्र शिसुवाको बाटो बनेन भने राजीनामा दिने घोषणा गरेका छन् ।
यसअघि २०७४ को निर्वाचनमा बाम गठबन्धन हुँदा अधिकारी प्रतिनिधिसभा र कोइराला प्रदेश सभाको उम्मेद्वार थिए । उबेलाका सहकर्मी अहिले प्रतिश्पर्धी छन् ।








