एउटा यस्तो क्षेत्र जहाँ कांग्रेस र एमालेका उम्मेदवार छैनन्

चितवन । चितवनको क्षेत्र नं ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । अध्यक्ष प्रचण्डले यो क्षेत्र छोडेर गोर्खा पुगेपछि अब चितवन ३ उनको निर्वाचन क्षेत्र रहेन । चितवन ३ एउटा यस्तो क्षेत्र बन्यो जहाँ देशका ठूला भनिएका दुई पार्टी नेकपा एमाले र नेपाली कांग्रेसको आधिकारिक उमेदवार नै भएनन् ।

चितवन ३ मा प्रतिनिधि सभातर्फ एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उमेदवार दर्ता गराएका थिए, तर केन्द्रबाट अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कार्यालयमा पत्र पठाएर न्यौपानेको उमेदवार फिर्ता गराइदिए । स्वतन्त्रबाट उठेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई सघाउने घोषणा पनि अध्यक्ष ओलीले गरिदिए । यद्यपि यो कुरा चितवन ३ का एमालेका मतदातासम्म आइनपुगेको बताइएको छ । निर्वाचन कार्यालयबाट कोइरालाले माछा चुनाव चिन्ह पाइसकेका छन् ।

अब चितवन ३ का एमाले मतदाताले प्रतिनिधि सभामा सूर्य चिन्ह पाउने छैनन् । चितवन ३ मा एमालेबाट एकल सिफारिसमा परेका न्यौपानेको उमेदवार फिर्ता भइसकेको हुनाले एमाले प्रतिनिधि सभामा खाली बनेको छ । चितवन ३ का एमालेका मतदाताले समानुपातिक वा प्रदेशतर्फ आफ्नो चिन्ह सूर्य मत हाल्न पाए पनि प्रतिनिधिसभातर्फ त्यो अवसर पाएनन् ।

यस्तै सत्तारुढ गठबन्धनमा चितवन ३ माओवादी केन्द्रको भागमा परेको छ । यस क्षेत्र प्रचण्डको लागि राखिएको हुनाले सत्तारुढ गठबन्धनमध्येका कुनै उम्मेदवारले उम्मेदवारी दर्ता नै गरेनन् । तर अन्तिममा प्रचण्डले यो क्षेत्र छोडेपछि माओवादी केन्द्रकै डा भोजराज अधिकारी चुनावी मैदानमा आए । केन्द्रमा कांग्रेसले गठबन्धनका उमेदवार भएका हुनाले डा. अधिकारीलाई सघाउने निर्णय गरिसकेको छ । माओवादी केन्द्रका उमेदवार डा अधिकारीलाई सघाउने निर्णय गरेपछि चितवन ३ मा कांग्रेसको आधिकारिक उमेदवार हुने कुरै भएन ।

यसरी चितवन–३ मा एमाले र कांग्रेसको आधिकारिक उमेदवार नै भएनन् । एमालेले स्वतन्त्र उमेदवार कोइरालालाई सघाउने र कांग्रेसले माओवादी केन्द्रको उमेदवार डा अधिकारीलाई सघाउने निर्णय भएसँगै यस पटक यहाँका मतदाता आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्नबाट वञ्चित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *