सत्ता गठबन्धन र उपेन्द्र : प्रतिशोध साँध्दै, मन्त्री हटाउँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्तीमा परेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि रुष्ट सत्ता गठबन्धनले जसपालाई सरकारबाट बाहिरिन दबाब दिइरहेको थियो । सत्ता गठबन्धनका नेताहरू सुरुदेखि जसपाका मन्त्रीहरू हटाउनुपर्ने पक्षमा थिए । आफैँ नहटेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरिदिएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंह हटाइएका हुन् । श्रेष्ठ सरकारमा पार्टीको नेतृत्व गर्दै असोज २०७८ मा मन्त्री बनेका थिए भने इस्तियाक, प्रदीप र मृगेन्द्रकुमार २० असारमा मात्र मन्त्री बनेका थिए । सत्ता गठबन्धनमा रहेको जसपाले २२ असोजमा एमालेसँग चुनावी तालमेलको सहमति गरेको थियो । तर, मन्त्रीहरूले भने राजीनामा दिएका थिएनन् ।

मन्त्री हटाएर सरकारले जसपा र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिशोध साँधेको हो । अन्तिम समयमा प्रतिपक्षी एमालेसँग मिल्न गएर सत्तागठबन्धनबाट बाहिरिएको जसपासँग सरकारले बदला लिएको हो । जसपाका मन्त्रीहरू हटाइदिएर प्रधानमन्त्री देउवाले चुनावपछि पनि जसपालाई गठबन्धनमा सामेल नगराउने सन्देश दिएका छन् ।

तर, सरकार र सत्ता गठबन्धनको यो कदमले मन्त्रिपरिषद् अधुरो हुने भएको छ । चुनावको बेला सरकार अपूर्ण भएको यो पहिलो घटना भने होइन । ०७४ सालको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा पनि अहिलेकै जस्तो परिस्थिति तत्कालीन सरकारले खेपेको थियो ।

त्यस बेला पनि प्रधानमन्त्री देउवा नै थिए । ०७४ मा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले एमालेसँग गठबन्धन गरेको थियो । देउवा नै प्रधानमन्त्री थिए । देउवा प्रधानमन्त्री भएकै बेला माओवादी केन्द्रले एमालेसँग चुनावी तालमेल गरेको थियो । एमालेसँग तालमेल गरेर पनि माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूले राजीनामा नगरी बसेपछि प्रधानमन्त्री देउवाले सबै मन्त्रीलाई बिना विभागीय बनाइदिएका थिए । बिना विभागीय मन्त्रीकै हैसियतमा चुनावमा गएका थिए । त्यस बेला जिम्मेवारी खोस्दा पनि मन्त्रिबाट नहटेको अनुभव भोगिसकेका देउवाले यस पटक भने हटाउनु पर्ने मन्त्रीहरुलाई बर्खास्त नै गरिदिए ।

जसपा तर्फका मन्त्रीहरू हटाएका कारण मन्त्रिपरिषद् फेरि अधुरो भएको छ । नयाँ मन्त्री नियुक्त गर्न पनि चुनावी सरकारलाई अप्ठ्यारो छ । जसपाले एमालेसँग तालमेल गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सत्तारुढ गठबन्धनमा भित्रिएको छ । निर्वाचन आचारसंहिताका कारण लोसपाका नेताहरूलाई नियुक्ति गर्न मिल्दैन । यस कारण मन्त्रालयहरू नेतृत्वविहीन हुने भएका छन् ।

रक्षा मन्त्रालय यसअघि नै रिक्त थियो । ६ महिना मात्रै गैरसांसदले मन्त्री हुन पाउने संवैधानिक व्यवस्थाका कारणले कानुन मन्त्री गोविन्द बन्दीको पद गएको छ । जसपाका नेता मन्त्री बर्खास्त हुँदा मन्त्रिपरिषद्मा ६ वटा मन्त्रालय रिक्त हुन पुगेको छ ।

प्रधानमन्त्री देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेसँगै मधेस प्रदेश सरकार प्रभावित भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि सत्तारुढ गठबन्धन दलबाट मन्त्रिपरिषद्मा सामेल मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

जनता समाजवादी पार्टीका राउत नेतृत्वको मधेस सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूलाई हटाउने तयारी भएको हो । मधेस प्रदेश सरकारमा कांग्रेसका ३, एकीकृत समाजवादीका २ मन्त्री र एक राज्यमन्त्री, माओवादीका एक मन्त्री र एक राज्यमन्त्री छन् ।

कांग्रेसबाट प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह छन् ।

नेकपा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादव र राज्य मन्त्री नागेन्द्र राय यादव छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *