कास्कीबाट १६ जनाले उम्मेदवारी फिर्ता लिए, कांग्रेसका पूर्व मन्त्री गुरुङले टेरेनन् पार्टीको ह्वीप

पोखरा । कास्कीका १६ उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नम्बर १ बाट महेन्द्र खत्री, घननाथ सापकोटा र आनन्द सापकोटाले आफ्नो मनोनयन फिर्ता लिएका छन् । घननाथ एकीकृत समाजवादीका मादी अध्यक्ष हुन् । उनले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका थिए । यस्तै, कास्की १ (क) मा उम्मेदवारी दिएका भरत तिवारी पनि पछि हटेका छन् । उनी नेपाली कांग्रेसका नेता हुन् । १ (ख) बाट दिलमाया मुक्तानको नाम फिर्ता भएको छ निर्वाचन कार्यालय कास्कीले जनाएको छ ।

क्षेत्र नम्बर २ बाट अजय विश्वकर्माले मनोनयन फिर्ता लिएका छन् । २ (क) बाट दीपक विश्वकर्मा, ईश्वर कुमार गुरुङ र सुन्दर बरालले नाम फिर्ता लिए । क्षेत्र नम्बर ३ बाट राजाराम दाहाल, यमकृष्ण पौडेल र जगन्नाथ बास्तोलाको नाम फिर्ता भएको छ । ३ (क) बाट लिलाधर ढकाल, जगबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङ तथा ३ (ख) बाट चीना दवाडीले नाम फिर्ता लिएका छन् । विशेष चासोका साथ हेरिएको कांग्रेस नेता तथा पूर्व मन्त्री महादेव गुरुङले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।

उनले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका हुन् । कास्की क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीले टिकट पाएको छ । श्रीनाथ बराल गठबन्धनको आधिकारिक उम्मेदवार हुन् । तर गुरुङले बरालको विरुद्ध बागी उम्मेदवारी दिए । उनले पुतली चुनाव चिन्ह पाएका छन् । शेरबहादुर देउवाले नै फोन गरेर उम्मेदवारी फिर्ता लिन आग्रह गरे पनि उनले कारबाही सहने तर फिर्ता नलिने जवाफ फर्काएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *