चितवन ३ : ओलीले रामप्रसाद न्यौपानेको टिकट किन खोसिदिए ?

चितवन । चितवन–३ कुनै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र हो । प्रचण्डले आफ्नो क्षेत्र छोडेर गोर्खा २ मा हाम्फालेका छन् । नेपाली कांग्रेसको साथ र समर्थन कम हुने संकेत पाएपछि प्रचण्डले चितवन ३ छोडेको बुझाइ छ ।
चितवन ३ मा नेपाली कांग्रेसका दुई नेताको बागी उम्मेदवारी परेको छ । एक जना नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला हुन् भने अर्का यसअघि भरतपुर महानगरको मेयरमा उम्मेदवार दिएका जगन्नाथ पौडेल हुन् ।
यस क्षेत्रमा राप्रपासँग तालमेल भएमा एमालेले राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेलाई सघाउने भन्ने चर्चा थियो । अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका उपाध्यक्ष पाण्डेलाई नसघाउने निर्णय गरे । एमालेबाट एकल सिफारिस भएका चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अध्यक्ष ओलीले हस्ताक्षरसहितको पत्र पठाए । न्यौपानेले उम्मेदवारी दर्ता गरेसँग निर्वाचनको माहोल बनाउनतर्फ लागे ।
तर, अचानक ओलीले एमाले जिल्ला न्यौपानेलाई व्याक गराइदिए । ओलीले निर्वाचन कार्यालयमा पत्र पठाएर न्यौपानेको टिकट खोसिदिए ।
पाँच वर्षअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरका मेयरमा उम्मेदवारी दर्ता गरेका दिनेश कोइरालाको टिकट निर्वाचन कार्यालयमा पत्र पठाएर खोसिदिएका थिए । त्यो बेला कांग्रेसले माओवादी केन्द्रसँग तालमेल गरेको थियो, जसका कारण रेणु दाहाललाई सघाउने गरी कोइरालाको उम्मेदवारी देउवाले जबरजस्ती खोसिदिएका थिए ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहका उनै कोइराला अहिले चितवन क्षेत्र नं ३ मा बागी उम्मेदवारी दर्ता गरेका छन् । एमाले अध्यक्ष ओलीको ठाडो निर्देशनमा न्यौपानेको दर्ता भइसकेको उम्मेदवारी फिर्ता भएको छ । एमालेले उनै बागी उम्मेदवारी दर्ता गरेका कोइरालालाई सघाउने भएको छ ।
स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । न्यौपानेलाई ब्याक गराएर एमालेले कोइरालालाई समर्थन गरिसकेको छ।
चितवनका एमाले वृत्तमा अहिले अध्यक्ष ओलीले किन यस्तो निर्णय गरे भन्नेमा चर्चा परिचर्चा भइरहेको छ । हुन त कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला र एमाले अध्यक्ष ओलीबिच पटक पटक संवाद यसअघि पनि भइरहेको थियो, तर सार्थक परिणाम आएको थिएन । यसअघिको छलफलमा ओलीले कोइरालालाई सूर्य चिन्ह लिएर चितवन ३ मा उठ्न भनेका थिए, तर कोइराला सूर्य चिन्ह लिएर उठ्न राजी भएनन् । जसका कारण चितवन ३ मा एमालेका जिल्ला अध्यक्ष न्यौपानेले टिकट पाए ।
उम्मेदवारी दर्ता भएपछि कोइराला अध्यक्ष ओलीलाई भेट्न बालकोट नै पुगेको बुझिएको छ । योबीचमा पटक पटक ओली र कोइरालाबीच संवाद भएको छ । बागी उम्मेदवारीसँगै कोइराला एमाले अध्यक्ष ओलीसँग लगातार सम्पर्कमा थिए । आफ्नो सम्पर्कमा आएका कोइरालालाई ओलीले साथ दिए । यसमा के कारणले ओलीले कोइरालालाई साथ दिए भन्नेमा भित्री गुदी खुलेको त छैन, तर निर्वाचित भए सरकार गठनमा एमालेलाई सघाउने भन्ने सर्त अध्यक्ष ओलीले कोइरालासँग राखेको बुझिएको छ ।
यस क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका डा भोजराज अधिकारी र राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे उम्मेदवार रहेको छन् । कांग्रेसको निलम्बनमा परेका यसअघि भरतपुर महानगरको मेयरमा उठेर पराजित भएका जगन्नाथ पौडेल पनि यस क्षेत्रको उम्मेदवार हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *