८० वर्ष कटेका १० नेता, जो चुनावी मैदानमा उत्रिए

काठमाडौँ । आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ । सोहीअनुसार निर्वाचन आयोगले आफ्नो तयारी तिव्र बनाउँदै लगेको छ भने राजनीतिक दलहरुले पनि चुनावी प्रचारप्रसार अभियानलाई व्यापक बनाएका छन् ।

आयोगले उम्मेदवारी दर्ता, उम्मेदवारविरुद्ध उजुरी लिने, उम्मेदवारी रद्द गर्ने, नामावली प्रकाशन गर्ने लगायतका काम गरेको छ । यसपटकको निर्वाचनमा प्रतिनिधि सभातर्फ कुल दुई हजार ५२६ उम्मेदवार रहेका छन् । जसमध्ये दुई हजार २९१ पुरुष र २३५ जना महिला र रहेका छन् ।

यस्तै, प्रदेशसभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन् । आयोगले सार्वजनिक गरेको नामावलीअनुसार १० जना ८० देखि ९९ वर्षसम्मका वृद्ध नेताहरु चुनाव लड्दैछन् । निर्वाचनमा पाका नेताहरुलाई बिदा गर्नुपर्ने आवाज उठिरहेका बेला वृद्ध नेताहरुको चुनावी क्रेज भने कम भएको छैन् ।

जसअनुसार २०४८ सालदेखि सबै निर्वाचनमा उम्मेदवारी दिँदै आएका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यसपटक पनि उम्मेदवारी दिएका छन् । २०४८, २०५१ र २०५६ सालमा नेपाली कांग्रेसबाट चुनाव लडेका ठाकुरले २०६४ र २०७० मा तमलोपाबाट चुनाव लडेका थिए ।

साथै २०७४ सालको निर्वाचन अगावै तराई मधेश केन्द्रीत ६ दलबीच एकता भएर राष्ट्रिय जनता पार्टी गठन भयो । उनले २०७४ सालको निर्वाचन राजपाबाट लडेका हुन् । उमेरले ८० कटेका ठाकुर यसपटक गठबन्धनको सहयोगमा महोत्तरी ३ बाट चुनाव लड्दैछन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि यसपटकको प्रतिनिधिसभाको निर्वाचन लड्दैछन् । बागलुङ क्षेत्र नम्बर १ बाट केसीले उम्मेदवारी दर्ता गरेका हुन् । उमेरले ८० कटिसकेका केसी यसपटकको निर्वाचन जित्नेमा ढुक्क छन् । यस्तै स्वतन्त्र उम्मेदवार हृदयनारायण प्रसाद बर उमेरले ८० वर्ष लागे । उनी पर्सा क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन् । यस्तै स्वतन्त्र उम्मेदवार कृष्णराज गिरीले बारा क्षेत्र नम्बर १ बाट चुनावी प्रतिष्पर्धा गर्दैछन् । स्वतन्त्र उम्मेदवारी दिएका गिरी उमेरका हिसाबले ८१ वर्षका भए ।

कास्की क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका पशुपति तिमिल्सिना उमेरले ८४ वर्षका भए । साथै ८४ वर्षीय कर्णसिंह रावलले डडेल्धुरा १ बाट उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रबाट सर्लाही २ बाट उम्मेदवारी दिएका महिन्द्रराय यादव एकल चुनाव चिह्नबाट चुनाव लड्दैछन् । उनी पनि उमेरले ८५ वर्षका भएका छन् ।

स्वतन्त्र उम्मेदवार विष्णुप्रसाद ढकाल काठमाडौँ ६ बाट चुनाव लड्दैछन् । यस्तै राप्रपाका ८७ वर्षीय नेता युवराज गौतम तेह्रथुम १ बाट चुनावमा प्रतिष्पर्धा गर्दैछन् । कांग्रेस विपीका टिकादत्त पोखरेलले ९९ वर्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्दैछन् । उनले नेताहरुले पटकपटक चुनाव जितेर पनि देशका लागि केही गर्न नसकेकाले आफैं चुनावमा होमिन बाध्य भएको भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *