बाँकेमा उम्मेदवारी मनोनयनसँगै चुनावी चहलपहल तीब्र

नेपालगञ्ज । आगामी मङसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरुले निर्वाचन क्षेत्रस्तरमा भेला, बैठक र चुनाव केन्द्रित गतिविधि सुरु गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रचारमा हिँडेका छन् ।

तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित गतिविधि गरिरहेका छन् । निर्वाचनलाई दृष्टिगत गरेर नेपाली कांग्रेसले पनि चुनावी योजना तयार गरेको जिल्ला सभापति नारायण गौडेलले बताउनुभयो । उनले गठबन्धनमा सहभागी दलहरुसँगको समन्वयमा बैठक गरी चुनावी गतिविधि सञ्चालनको तयारी गरेको उल्लेख गरे ।

निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) बाँकेले तीनवटै निर्वाचन क्षेत्रस्तरीय बैठक आयोजना गरी निर्वाचन परिचालन समिति गठन गरिसकेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार, पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ । बाँके क्षेत्र नं २ बाट उम्मेदवार बन्नुभएका उक्त पार्टीका केन्द्रीय सचिव एवम् भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राहीको उपस्थितिमै निर्वाचन केन्द्रित भेला, बैठक र प्रचारप्रसार भइरहेको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए ।

जिल्लामा सत्ता साझेदार गठबन्धनबाट बाँके क्षेत्र नं १ मा माओवादीबाट युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, क्षेत्र नं २ मा कांग्रेसका सुदीपनरसिंह राणा र क्षेत्र नं ३ मा किशोरसिंह राठौर उम्मेदवार बनेका छन् ।

यसैगरी नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठबन्धनबाट क्षेत्र नं १ मा एमालेका सूर्य ढकाल, क्षेत्र नं २ मा राप्रपाका डा धवलशम्शेर राणा र क्षेत्र नं ३ मा एमालेका किस्मतकुमार कक्षपति उम्मेदवार बनेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा तीन प्रतिनिधिसभा र छ प्रदेशसभा गरी नौ सिटका लागि राजनीतिक दल र स्वतन्त्र रुपमा गरी ९९ जनाले उम्मेदवारी मनोनयन गरेर चुनावी प्रचारप्रसारमा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *