चितवनमा बागीकाे बाढी, फिर्ता गर्लान् त उम्मेदवारी ?

चितवन । चितवनमा प्रतिनिधिसभाका ३ र प्रदेश सभाको ६ वटा क्षेत्र छ । प्रतिनिधि र प्रदेशका गरी ९ सांसदको लागि यहाँ १२२ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनको सहमतिअनुसार चितवनको प्रतिनिधि सभाको ३ क्षेत्रमध्ये २ वटा क्षेत्र कांग्रेसको भागमा र एउटा क्षेत्र माओवादी केन्द्रको भागमा परेको हो ।

प्रदेशको एउटा क्षेत्र एकीकृत समाजवादी र २ क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । सहमतिअनुसार पार्टीले आधिकारिक उम्मेदवार खडा गरे पनि यहाँ बागी उम्मेदवारको बाढी नै आयो ।

बागी उम्मेदवारी हाल्नेमा नेपाली कांग्रेस अगाडि रहेको छ । आफूले नपाएको क्षेत्रमा र पाएको क्षेत्रमा कांग्रेसका बागी उम्मेदवार रहेका छन् । केही बागी उम्मेदवारले कांग्रेसको अस्तित्व जोगाउन उम्मेदवारी दिएको बताएका छन् भने केहीले गैर कांग्रेसलाई टिकट दिएको भन्दै उम्मेदवारी फिर्ता नलिने बताइरहेका छन् ।

सत्तारुढ गठबन्धनको सहमतिअनुसार चितवन क्षेत्र नं १ नेपाली कांग्रेसको भागमा परेको छ ।

कांग्रेसले अर्थविद् विश्वनाथ पौडेललाई उम्मेदवारी बनाएको छ । पौडेलका विरूद्ध कांग्रेसकै महासमिति सदस्य राजेन्द्रप्रसाद बुर्लाकोटीले बागी उम्मेदवारी दिएका छन् । बुर्लाकोटी यसअघिका दुईवटा आमनिर्वाचनमा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग पराजित भएका हुन् । बुर्लाकोटीले गैरकांग्रेसलाई टिकट दिएर पार्टीले आफूलाई पाखा लगाएको आरोप लगाउँदै उम्मेदवारी दर्ता गराए ।

‘म असहज परिस्थितिमा पार्टी जोगाउन चुनाव लडेको व्यक्ति हुँ’, उनले भने, ‘अहिले सहज परिस्थिति हुँदा पाखा लगाउन पाइन्छ रु मेरो उम्मेदवारी फिर्ता हुँदैन ।’

चितवन १ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीन जना कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएका छन् । चितवन क्षेत्र नं १ प्रदेशसभा ‘क’मा कांग्रेसको तर्फबाट गठबन्धनका उम्मेदवार किरणभूषण सिंह ओलीविरूद्ध बागी उम्मेदवारी परेको छ । ओलीविरूद्ध कांग्रेसका महाधिवेशन प्रतिनिधि धनबहादुर गुरूङले उम्मेदवारी दिए । गुरूङ २०७४ सालको निर्वाचनमा एमालेका दावादोर्जे लामासँग प्रदेशसभा निर्वाचनमा पराजित भएका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट प्रदेशसभा ‘ख’मा उम्मेदवारी दिएका कृष्णप्रसाद खनालविरूद्ध कांग्रेसका नेता राममणि न्यौपानेले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनमा चितवन १ को ‘ख’ एकीकृत समाजवादीको भागमा परेको छ । खनाल यसअघि सोही क्षेत्रबाट तत्कालीन नेकपाबाट निर्वाचित भएका नेता हुन् ।

चितवन क्षेत्र नं ३ गठबन्धनको सहमतिअनुसार नेकपा माओवादी केन्द्रको भागमा परेको छ । सो क्षेत्रमा माओवादी केन्द्रले डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ । डा अधिकारी चितवनमा लोकप्रिय नै मानिन्छन् । माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रमा नेपाली कांग्रेसका तीन नेताले उम्मेदवारी दर्ता गरेका छन् ।

कांग्रेसको अस्तित्व जोगाउन भन्दै सत्ता गठबन्धनविरूद्ध चितवन–३ मा कांग्रेसका तीन नेताले उम्मेदवारी दर्ता गराएका हुन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, निलम्बनमा परेका कांग्रेस नेता जगन्नाथ पौडेल र ठोरी–केरूङ लोकमार्गका अभियन्ताका रुपमा चिनिने कांग्रेस नेता तारा पौडेलले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका नेता जगन्नाथ पौडेल यसअघि भरतपुर महानगरको प्रमुखमा भुइँकटहर चुनाव चिन्ह लिएर उठेका थिए । नेता पौडेललाई कांग्रेसले निलम्बनको सूचीमा राखेको छ । कांग्रेसका केन्द्रीय सदस्य कोइरालाले अघिल्लो पटक स्थानीय तहको चुनावमा भरतपुर महानगरको मेयरमा उम्मेदवारी दर्ता गरेर पनि फिर्ता लिन बाध्य भएका थिए ।

केन्द्रीय सदस्य कोइरालाले पार्टी कसैको निजी नभएको भन्दै पार्टीलाई अनुशासनमा ल्याउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले पार्टीमा रहेको स्वेच्छाचारिताविरूद्ध उम्मेदवारी दर्ता गरेको भन्दै पार्टीभित्र पटकपटक कुरा उठाउँदा पनि नेतृत्वले नसुनेपछि बाध्य भएर उम्मेदवारी दिनु परेको बताए । उनले भने, ‘फिर्ता गर्नलाई उम्मेदवारी दर्ता गरेकै होइन, फिर्ता हुँदैन ।’

‘चितवन क्षेत्र नम्बर ३ मा प्रचण्ड ९पुष्पकमल दाहाल० लड्नु हुन्न, कांग्रेसलाई चाहिन्छ भनेर मैले पटकपटक कुरा उठाएँ । तर, उहाँ नउठ्दा पनि उहाँकै पार्टीलाई सहयोग गर्ने निर्णय गरियो’, कोइरालाले भने, ‘पार्टीले स्थानीय चुनावमा पनि गल्ती गरेको थियो, तर एकपटकलाई गल्ती भइहाल्यो भनेर चुप बसेँ । तर, जति हामी मान्दै जान्छौँ उति नेताहरुको अहमता, घमण्ड र स्वेच्छाचारिता बढ्दै गयो । ठूलो ढुङ्गा पनि सय चोटपछि फुट्न सक्छ ।’

केन्द्रीय सदस्य कोइरालाले पहिलेदेखि नै चितवन–३ मा कांग्रेसको उम्मेदवार हुनुपर्ने बताउँदै आएका थिए ।

२०७४ सालमा भरतपुरमा कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने निर्णयपछि रेनु दाहाललाई समर्थन गर्दै उनले दर्ता भएको उम्मेदवारी फिर्ता लिनु परेको थियो ।

भरतपुर महानगरको मेयर पदमा भुइँकटहर चुनाव चिन्ह लिएर उठेका जगन्नाथ पौडेलले पनि कांग्रेस नेता तथा कार्यकर्ताहरुको आग्रहमा आफूले उम्मेदवारी दिएको बताए ।

पौडेललगायतका केही नेताहरुलाई गठबन्धनविरूद्ध लागेको भन्दै वैशाखमै पार्टीले कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।

सिङ्गो एउटा पुस्ताले नै कांग्रेस र रुख बिर्सनुपर्ने परिस्थिति सिर्जना हुनु र कांग्रेसजस्तो देशकै ठूलो र पहिलो पार्टीले विचार एवं सिद्धान्त नै नमिल्नेहरुसँग कुम जोडेर हिँड्नुपर्ने अवस्था आउनुमा चितवन कांग्रेसको जिल्ला नेतृत्व र केन्द्रको कमजोरी भएको पौडेलले बताए । उनले भने, ‘उम्मेदवारी किन र कसका लागि फिर्ता गर्ने, कल्पना नै नगर्नू ।’

त्यसैगरी, तारा पौडेलले विकास र समृद्धिका निम्ति आफ्नो उम्मेदवारी रहेको बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर–३ छाड्ने चर्चा चल्दा यो क्षेत्र नेपाली कांग्रेसको भागमा पर्ने आकलन धेरैको थियो । कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले क्षेत्र नम्बर–३ को विकल्पमा माओवादीलाई चितवनका अन्य दुई क्षेत्रमध्ये एक रोज्न आग्रह गरेका थिए, यद्यपि पछि उनले अन्यत्र नगई चितवनको क्षेत्र नम्बर–३ बाटै उठिदिन प्रचण्डलाई आह्वान गरेका थिए, अन्ततः यस्तो आग्रहको सुनुवाई भएन ।

बागीलाई उम्मेदवारी फिर्ता लिन कांग्रेसको चेतावनी
नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई यही असोज २६ गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *