रूपन्देही २ : विष्णु पौडेल निर्विरोध हुने सम्भावना

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्विरोध हुने सम्भावना देखिएको छ । बुटवल र आसपासका क्षेत्र पर्ने रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट पाँचौँ पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पौडेल अहिले चौथो पटकको जीतका लागि उम्मेदवार बनेका छन् । तर उनीसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङले उम्मेदवारी दिएका थिए । तर, उनी बैंकिङ कसुर मुद्धामा कालोसूचीमा परेको भन्दै उजुरी परेपछि उनको उम्मेदवारी खारेज भएको छ ।
मंगलबार राती उनको उम्मेदवारी खारेज भएको सूचना निर्वाचन अधिकृतको कार्यालय निकालेको थियो ।

नर्थ वेष्ट नेपाल इन्फा प्रालिका अध्यक्ष समेत रहेका गुरुङले तिर्नुपर्ने २ करोड २५ लाख रुपैयाँ नतिरेको भन्दै २०७६ सालमा काठमाडौँ जिल्ला अदालतमा बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको थियो । अदालतले २०७८ मंसिर २१ गते बेष्ट प्रोजेक्ट कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका अध्यक्ष अन्जित बिष्टलाई दायित्व तिर्नुपर्ने फैसला गरेको थियो । फैसलामा नर्थवेष्ट नेपाल इन्फा प्रालिका गुरुङसहितका ६ जनाले विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७ (क) बमोजिम जनही २ हजार रुपैयाँ जरिवानासहित मागदाबी अनुसारको बिगो तिराउने उल्लेख थियो । कालोसूचीमा परेकाले राजुको मनोनयन दर्ता खारेज भएको रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।

त्यस्तै, हाम्रो नेपाली पार्टीका कमल भुसाल ‘निकोलश’को पनि उम्मेदवारी खारेज भएको छ । निकोलसले सरकारी छात्रवृत्तिमा एमडी पढेका हुन् । छात्रवृत्तिमा चिकित्सा शास्त्र पढेपछि २ वर्ष अस्पतालमा सेवा गर्नै पर्ने हुन्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत उनले सरकारबाट मासिक निर्वाह भत्ता पनि पाउँछन् । सरकारी कोषबाट आर्थिक सुविधा पाउने गरि लाभको पदमा रहेकाले भुसालको उम्मेदवारी खारेज भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै रुपन्देही २ कै स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको छ ।

उम्मेदवारी खारेजीमा परेका गुरुङ र भुसाल निर्वाचन अधिकृतको कार्यालयविरुद्ध अदालत जाने बताइएरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *