गण्डकीका अधिकांश सांसद पुनः सांसद बन्ने तयारीमा 

पोखरा । गण्डकीका अधिकांश सांसद पुनः दोहोरिने दाउमा छन् । अधिकांश प्रदेश सांसदहरू केही दोहोरिने र केही संघको प्रतिस्पर्धामा लागेका छन् ।  मुस्ताङ (क)बाट निर्वाचित इन्द्रधारा विष्ट अहिले पुनः सोही क्षेत्रमा उम्मेदवार बनेका छन् । प्रदेशसभा (ख) मा यसअघि समानुपातिक सांसद भएर एक कार्यकाल काम गरिसकेका चन्द्रमोहन गौचनले टिकट पाएका छन् । यसअघि निर्वाचित सांसद महेन्द्रबहादुर थकाली अहिले प्रतिनिधि सभाको समानुपातिक सूचीमा छन् ।

मनाङबाट एमालेको समर्थनमा सांसद बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई आगामी निर्वाचनमा कांग्रेसले सोही निर्वाचन क्षेत्रमा समर्थन गरेको छ । एमालेले पनि उनैलाई साथ दिएको बुझिएको छ । यहाँ पार्टीका आधिकारिक उम्मेदवार छैनन् । कांग्रेसबाट यसअघि मनाङ (क) को सांसद बनेका चिन्ताबहादुर घले भने अहिले चुनावी रेसबाट बाहिर छन् ।

पुर्व मुख्यमन्त्री तथा एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । उनको नाम भने लमजुङ (ख)बाट सिफारिस भएको थियो । तर पार्टीले नै उनको आकांक्षा विपरीत संघको टिकट थमाएको हो । तनहुँ १ (क)का सांसद रामबहादुर गुरुङ सोही क्षेत्रमा उम्मेदवार बनेका छन् भने (ख) का सांसद हरिबहादुर चुमान पनि सोही क्षेत्रमा दोहोरिएर उम्मेदवारी दर्ता गरेका छन् ।

२ (क) का सांसद किरण गुरुङ प्रतिनिधिसभाको उम्मेदवार हुन् । (ख)की सांसद आशा कोइराला प्रतिनिधि सभामा सिफारिस भए पनि टिकट पाइनन् । नवलपुर १ (क) का सांसद तथा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल भने चुनावी रेसबाट बाहिर छन् ।

१(ख) बाट ओमकला गौतमको नाम सिफारिस भए पनि टिकट पाइनन् । २ (क) मा विष्णुप्रसाद लामिछानेले टिकट पाएका छन् । १ (ख)मा एमालेले रोशन गाहा थापालाई दोहोर्‍याएको छ । गोरखा १ (ख) बाट निर्वाचित रामशरण बस्नेतले संघको टिकट ल्याएका छन् ।

कास्की १ (क) मा दीपक कोइराला, २ (ख)मा विन्दुकुमार थापा र ३ (ख) मा राजीव पहारी दोहोरिएका छन् भने क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारी प्रदेशसभामा झरेका छन् । ३ (क) का सांसद रामजी बरालले संघको टिकट पाएका छन् । १ (ख) का सांसद मनबहादुर गुरुङ पनि संघको उम्मेदवार बनेका छन् । अन्य क्षेत्रका सांसदहरू केही समानुपातिकमा परे पनि अरू चुनावी रिङबाट बाहिर परेका छन् ।

प्रतिनिधि सभाका पुर्व सांसदहरू पनि अहिले कोही सोही पदमा दोहोरिँदै छन् भने कोही प्रदेशमा झरेका छन् । गोरखा २ )ख)मा उम्मेदवारी दिएका सुरेन्द्र पाण्डे राष्ट्रिय सभा सांसद भएर कार्यकाल पूरा गरेका व्यक्ति हुन् ।  लमजुङका देव गुरुङ, मनाङका पोल्देन छोपेन गुरुङ, स्याङ्जाका नारायण मरासिनी र पद्या अर्याल, नवलपुरका डा. शशाङ्क कोइराला र तिलक महत, कास्कीकी विद्या भट्टराई, पर्वतका पदम गिरी, बागलुङका सूर्य पाठक र मुस्ताङका प्रेम तुलाचनले दोहोर्‍याएर उम्मेदवारी दिएका छन् । १८ सांसद मध्ये १० जनाले दोहोर्‍याउन लागेका हुन् । गोरखा २ बाट उम्मेदवारी दिएका पुष्पकमल दाहाल प्रचण्ड सोही क्षेत्रको सांसद नभएपनि प्रतिनिधि सभा सांसद भएर काम गरिसकेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *