गण्डकीका कानूनमन्त्री थापाले फिर्ता गरे सरकारी गाडी, चुनावभरी निजी गाडी चड्ने

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आफुले प्रयोग गर्दै आएको सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् । मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनका लागि उनले कास्की क्षेत्र नम्बर २ (ख) बाट उम्मेद्वारी दिएका छन् । थापाले चुनावी अभियान ब्यक्तिगत हुने र सरकारी सुविधा प्रयोग गर्न नहुने भन्दै गाडी फिर्ता गरेका हुन् ।

उनले प्रयोग गर्दै आएको ग१झ ५६३ नम्बरको गाडीको चाबी मन्त्रालयका सचिव शम्भूप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका हुन् । निर्वाचनलाई मर्यादित बनाउन सरकारी सुविधा फिर्ता गरेको उनले बताए । ‘गण्डकी प्रदेश सरकार अन्तर्गत कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रीका रुपमा कार्यभार सम्हाल्दा सरकारी गाडी सुविधा प्राप्त गरेको थिएँ । आसन्न निर्वाचनमा मनोनयन दर्ता गरेसँगै अब म उम्मेदवार पनि भएकाले चुनावी प्रचार प्रसार लगायत अन्य काममा लाग्नुपर्छ । त्यतिबेला झण्डावाला गाडी चलाउनु मेरो नैतिकताले दिँदैन,’ उनले भने ।

मन्त्री थापाले २०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि प्राप्त तलब, भत्ता तथा अन्य सुविधा पनि विभिन्न सामाजिक कार्यमा खर्च गरेको विवरण केही दिन अघि मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । आगामी चुनावमा पनि निर्वाचित भएपछि सरकारी सुविधा जनतालाई नै दिने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *