चितवन ३ मा राप्रपा र एमालेबीच भएन सहमति, विक्रम पाण्डे र रामप्रसाद न्यौपाने मैदानमा

चितवन । चितवन क्षेत्र नं ३ मा राप्रपा र एमालेबीच सहमति हुने भनिए पनि अन्ततः सहमति हुन सकेको छैन । चितवन ३ लाई छोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोर्खाबाट उठ्ने भएका छन् । चितवन ३ मा एमाले र राप्रपाबीच तालमेल नहुने भएको छ ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार चितवन ३ मा एमाले र राप्रपाबीच तालमेल भएको छैन । उनले चितवन ३ मा एमालेबाट आफ्नो उम्मेदवारी रहने बताए । न्यौपानेले भने, ‘म चितवन ३ बाट एकल सिफारिस भएको हो, मेरो उमेदवारी मनोनयन हुन्छ । राप्रपासँग तालमेल भएको छैन र अब हुने पनि छैन ।’

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवनका सबै निर्वाचन क्षेत्रमा उमेदवारी दिने भएको छ। राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीका अनुसार प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री तथा केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे उमेदवार बन्ने भएका छन् ।

दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा तत्कालीन चितवन–५ बाट निर्वाचित विक्रम पाण्डे दुई पटकसम्म मन्त्रीसमेत बनिसकेका नेता हुन्। त्यतिबेलाको चितवन ५ नं क्षेत्र अहिले चितवन ३ भएको छ ।

सत्तागठबन्धनबाट चितवन–३ मा माओवादी अध्यक्ष प्रचण्ड उमेदवार बन्ने भनिए पनि अन्तिम चरणमा आएर उनी गोरखा–२ बाट उमेदवार बन्ने भएपछि राप्रपा र एमालेबीच सहमति हुन नसकेको चर्चा छ ।

उमेदवारी दर्ता गर्न पूर्वमन्त्री पाण्डे आइतबार बिहानै चितवन आइपुगेका छन् र अबको केहीबेरमा उमेदवारी दर्ता गर्ने भएका छन् । यता एमालेका न्यौपानेले पनि केहीबेरमा आफ्नो उमेदवारी दर्ता हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *