चितवन १ मा विश्व पौडेल इन, स्वर्णीम वाग्ले आउट

चितवन । चितवन क्षेत्र नं १ बाट नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई उठाउने भएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले चितवन १ मा पौडेललाई उठाउने निर्णय गरेको हो ।

चितवन १ मा उम्मेदवारको लागि अर्थशास्त्री पौडेलसहित ६ जना केन्द्रमा सिफारिस भएका थिए । अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि चितवन १ मा सिफारिस भएका थिए ।

सिफारिस हुनेहरूमा राजेन्द्र बुर्लाकोटी, भीमप्रसाद थपलिया, उमेश श्रेष्ठ, तीर्थ खनियाँ, स्वर्णिम वाग्ले र विश्व पौडेल हुन् । अन्ततः पार्टीले विश्व पौडेललाई टिकट दिएको छ । चितवन १ को लागि सिफारिस भएका उमेश श्रेष्ठ चितवन २ बाट उठ्ने भएका छन् । स्वर्णीम वाग्लेलाई उछिन्दै विश्व पौडेलले टिकट हत्याएका छन् ।

राष्ट्रिय योजना आयोगमा पालैपालो उपाध्यक्ष बनेका हुन् स्वर्णिम र विश्व । अर्थशास्त्रमा पिएचडी गरेका यी दुई मित्रहरु चितवन १ मा सिफारिस हुनेमा आमनेसामने बनेका थिए। अन्ततः पौडेलले टिकट पाउने निश्चित भएको छ ।

खासमा स्वर्णिम गोरखा-१ बाट लड्ने तयारी गर्दै थिए । त्यहाँ अनुकुल नभएपछि काठमाडौं ५ बाट उठ्ने उनको इच्छा थियो । तर अकस्मात् उनी चितवन १ पुगेका थिए, तर टिकट पाउनबाट वञ्चित भएका छन् । उनकै साथी विश्व पौडेलले उनलाई पाखा लगाइदिँदै टिकट हत्याएका हुन् ।

उम्मेदवार सिफारिसको समयमा पौडेलले भनेका थिए, ‘म उठ्ने चितवनबाटै हो, अन्यत्र मेरो आधार छैन । तर उहाँको अरुतिर पनि थियो । किन आउनुभयो, थाहा भएन, मसँग सोधेर स्वर्णिमजी चितवन आएको होइन ।’ नेपाली कांग्रेस वृत्तमा विश्व पौडेलले टिकट पाउनुमा आरजु देउवाको हात रहेको चर्चा चलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *