गण्डकीमा एकल बहुमत पुर्‍याउने कांग्रेसको कसरत, जनमोर्चा निल

पोखरा । मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारका लागि कांग्रेसले गण्डकीमा आफ्नो एकल बहुमतको कसरत गरेको छ । ३६ निर्वाचन क्षेत्र रहेको यहाँ गठबन्धनबाट कांग्रेसले मात्रै २३ सीट लिएको छ ।

माओवादी केन्द्रले ११ सीट र एकीकृत समाजवादीले २ सीट पाएको छ । यसअघि ६ सीट मात्रै प्रत्यक्ष चुनाव जितेको कांग्रेसले ९ सीट समानुपातिक सहित १५ सांसद पाएको थियो । अहिले पनि २३ सीटमा चुनाव जिते ९ सीट हाराहारी समानुपातिक पाउने सम्भावना देखिन्छ । त्यसो हुँदा ६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसको एकल बहुमत हुन सक्छ । तर कांग्रेसले टिकट पाएका केही क्षेत्रहरू कमजोर छन् ।

गोरखा र बागलुङका प्रायः सबै क्षेत्र गठबन्धन उम्मेदवार विजयी हुन सक्छन् । स्थानीय तहको निर्वाचन हेर्दा दुवै जिल्लामा एमाले भन्दा गठबन्धन निकै अगाडी छ । स्याङ्जा १ (ख), २ (ख), नवलपुर १ (क), २ (क), मुस्ताङका २ वटै क्षेत्र कांग्रेसले पाएको छ । यस्तै, म्याग्दीका २ वटै क्षेत्र, बागलुङका ४ वटै क्षेत्रमा कांग्रेसका उम्मेदवार हुने छन् ।

पर्वत (ख), गोरखा १ (ख), २ (क), मनाङ (ख), लमजुङका दुई वटै क्षेत्र, कास्की १ (ख), २ (ख), ३ (ख), तनहुँ १ (क) र तनहुँको २ (ख)मा कांग्रेस उम्मेदवार रहने छन् । माओवादीले गोरखा १ (क), २ (ख), मनाङ (क), कास्की १ (क), २ (क), ३(क), तनहुँ १ (ख), २ (क), स्याङ्जा १ (क), नवलुर १ (ख) र पर्वत (क) क्षेत्र पाएको छ ।

माओवादीले आफ्नै सीटबाट बाबुराम भट्टराईको समाजवादी पार्टीलाई समेत केही सीट दिने छ । यता कांग्रेसले पनि मनाङ ९ख० मा स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) लाई समर्थन गर्ने बताएको छ ।

यहाँबाट एकीकृत समाजवादीका स्याङ्जा २ (क) र नवलपुर २ (ख)मा उम्मेदवार रहने छन् । अघिल्लो पटक प्रत्यक्षमा २ सीट जितेको जनमोर्चाले यसपालि प्रत्यक्षतर्फ उम्मेदवारी नदिने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *