चितवनमा एमालेबाट टिकट पाउनेमा पुरानै अनुहार !

चितवन । नेकपा एमालेले चितवनमा पुरानै अनुहारलाई टिकट दिएको छ । चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको टिकट नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाएका छन् । उनी यसअघि सो क्षेत्रमा दुई पटक निर्वाचित भइसकेका नेता हुन् ।
चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ उपाध्यक्ष पाण्डे र पूर्व जिल्ला अध्यक्ष जेएन थपलियाको नाम सिफारिस भएको थियो । अन्ततः अर्थमन्त्रीसमेत भइसकेका पाण्डेले चितवन १ बाट टिकट पाएका छन् । नेता थपलिया प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ को ‘क’ मा टिकट पाएका छन् भने ‘ख’ मा प्रकाश खनाल ‘सैलेश’ ले टिकट पाएका छन् ।

चितवन क्षेत्र नं १ बाट दुईपटक २०७० र २०७४ मा प्रत्यक्षबाट निर्वाचित भएका सुरेन्द्र पाण्डे यसपटक पनि चुनावी मैदानमा आएका छन् । एमालेका उपाध्यक्षसमेत रहेका पाण्डे ०६६ सालमा माधव नेपाल प्रधानमन्त्री हुँदा १९ महिना अर्थमन्त्री भए ।

चितवन क्षेत्र नं १ लाई एमालेले आफ्नो विरासतको रुपमा दावी गर्दै आएको छ । एमालेका नेता जागृतप्रसाद भेटवालको पालादेखि नै सो क्षेत्र एमालेले आफ्नो किल्लाका रुपमा दाबी गर्दै आएको छ । २०६४ सालमा देशभर नै तत्कालीन माओवादीले जित्दा यस क्षेत्रमा एमालेका लालमणि चौधरीले विजय हासिल गरेका थिए । बहुदलपछि २०५६ सालमा मात्रै यस क्षेत्रमा कांग्रेस उमेदवार सावित्री बोगटी विजयी भएकी हुन्, नत्र हालसम्मको चुनावमा एमालेका उमेदवार नै विजयी भइरहेका छन् ।

२०७४ मा वाम गठबन्धनको साझा उमेदवार बनेका पाण्डेले ५१ हजार ८० मत ल्याएर जित्दै गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले ३५ हजार ३६० मतमात्र ल्याएका थिए ।

यस्तै, चितवन २ मा पनि यसअघि निर्वाचित भएका पुरानै अनुहार कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा तर्फको टिकट पाएका छन् । सांसद् पोखरेल २०७४ सालमा तत्कालीन नेकपाबाट चितवन क्षेत्र नं–२ बाट निर्वाचित भएका थिए । उनी दुई कार्यकाल सांसद् भइसकेका छन् । २०७० सालमा पोखरेल चितवन क्षेत्र नं–३ बाट निर्वाचित भएका थिए ।

२०७४ सालमा पोखरेलले कांग्रेसका उम्मेदवार तत्कालीन शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई पराजित गरेका थिए । त्यतिबेला पोखरेलले १७ हजार ३ सय ५६ मतले अधिकारीलाई पराजित गरेका हुन् । पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा अधिकारीले २७ हजार ३ सय १४ मत प्राप्त गरेका थिए।

एमालेले प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ को ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिएको छ । सिलवाल इच्छा मनकामना गाउँपालिकाका पूर्व अध्यक्ष हुन् भने ज्ञवाली स्थानीय तहको चुनावमा भरतपुर महानगरको प्रमुख पदमा यसअघि नै चुनाव लडेका थिए । प्रदेश सभातर्फ चितवन २ मा एमालेले नयाँ अनुहारलाई उभ्याएको छ । ज्ञवाली र सिलवाल दुबै नयाँ अनुहार हो ।

एमालेले चितवन क्षेत्र नम्बर ३ को उम्मेदवार भने टुंगो लगाएको छैन । क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने एकल रूपमा सिफारिस भएका छन् । एमाले र राप्रपाबीच तालमेल भए क्षेत्र नम्बर ३ राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले टिकट पाउने सम्भावना छ ।

क्षेत्र नम्बर ३ को प्रदेशसभा तर्फ भने ‘क’मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट उम्मेदवार बनाउने लगभग पक्का छ । भुर्तेल पुरानो अनुहार हो भने विष्ट नयाँ अनुहार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *