जसपालाई एमालेले १९ सिट छाड्ने, फाइनल ‘टच’ दिन बाँकी !

काठमाडौँ । सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका १९ सिट छाड्न एमाले तयार भएको छ । १९ सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।

तीन दिनयता भइरहेको छलफलपछि जसपालाई १९ सिट दिनेगरी तालमेलको सहमति भएको एमालेका एक पदाधिकारीले जानकारी दिए । ‘जसपालाई १९ सिट दिनेगरी लगभग सहमति भयो, एक सिट तल-माथि हुन सक्छ’, वार्तामा सहभागी ति पदाधिकारीले भने । उनकाअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पटक-पटकको छलफलपछि सहमति जुटेको हो ।

पछिल्लो सहमति अनुसार काठमाडौँ क्षेत्र नम्बर ७, सुनसरी क्षेत्र नम्बर १ र मोरङ क्षेत्र नम्बर ५ जसपालाई दिन एमाले तयार भएको छ । सहमति मान्न दुवै पक्ष तयार भएपनि निर्णय भने भइसकेको छैन । अब फेरि दुबै दलका शीर्ष नेता बसेर सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेको नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनले अपेक्षित सिट नदिएपछि जसपा एमालेसँग तालमेल गर्न पुगेको थियो । सत्ता गठबन्धनले जसपालाई १६ सिट दिने निर्णय गरेपनि उसले २५ सिटमा दाबी गरेको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई ‘प्रतिगमन’ भन्दै उपेन्द्र यादव कांग्रेस नेतृत्वको मोर्चामा सहभागी भएका थिए । २०७४ सालको चुनावलगत्तै बनेको केपी ओली नेतृत्वको सरकारमा भने यादव उपप्रधानमन्त्री बनेर सहभागी भएका थिए । जसपाले एमाले कित्ता रोज्दा मधेशकै अर्को दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सत्ता गठबन्धनको साथ पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *