सत्ता गठबन्धनमा कहिले मिल्छ सिटको भाग ?

काठमाडौँ । सत्ता गठबन्धनले सिट बाँडफाँटमा अझै सहमति जुटाउन सकेको छैन । बुधबारको बैठक पनि बिना निष्कर्ष टुङ्गिएको हो ।

गठबन्धन नेताहरू दसैँ मनाएर प्रधानमन्त्री निवास बालुवाटार पुगे पनि कुनै सहमति जुटाउन सकेनन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार हिजो नेपाली कांग्रेसले मुख्यतः एकीकृत समाजवादी र जसपासँग दुई पक्षीय छलफल गरेको थियो । कार्यदलको प्रस्तावमाथि एकीकृत समाजवादी र जसपाको विमति रहेकाले सहमतिका लागि कांग्रेसले दुई पक्षीय छलफल गरेको हो ।

कांग्रेसले प्रदेशमा पनि प्रतिनिधिसभाको हिसाबमा सिट लिने रणनीति बनाएपछि गठबन्धनको विकल्पमा जसपाले अन्य पार्टीसँग पनि तालमेलका लागि संस्थागत रूपमा ढोका खुला गरेको छ । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

प्रतिनिधिसभाको १६५ र प्रदेश सभाका ३३० सिटमा आज हस्ताक्षर गर्ने सम्भावना भए पनि जसपा भने गठबन्धनबाट बाहिरिने सम्भावना बढेको हो । गठबन्धनमा कांग्रेसले ८५, माओवादी ४४, एकीकृत समाजवादी १८ र जसपालाई १५ सिट दिने गरी छलफल चलिरहेको छ । तर, जसपाले भने २५ सिट नदिए गठबन्धन छोड्ने चेतावनी दिइसकेको छ । उसले एक्लै चुनावमा जाँदा समेत १५ सिट जित्ने दाबी गर्दै आएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आफूलाई २५ सिट नदिए गठबन्धनमा नबस्ने बताइसकेका छन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग समेत निरन्तर वार्ता गरिरहेका छन् । एमालेले जसपालाई २४ सिट दिने प्रस्ताव गरिसकेको छ । दुवै दलबीच २ नम्बर प्रदेशमा १६-१६ सिटमा चुनाव लड्ने गरी छलफल चलिरहेको छ । बाँकी काठमाडौँ ७, मोरङ ५ सुनसरी १ र धनकुटा जसपालाई दिने गरी सहमति हुने सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *